अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता

राष्ट्रिय अन्तर क्वान उसु सुरु

अन्तर क्वान खुला राष्ट्रिय उसुको उद्घाटनका अवसरमा प्रदर्शनी खेल प्रस्तुत गर्दै साग स्वर्ण विजेता निमा घर्ती मगर

काठमाडौं र नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले उद्घाटन गरिन् । प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता छ । थाउलो र सान्सौंमा समान १० गरी २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटनका अवसरमा मित्रराष्ट्र चीनको होङझाउमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

 कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, चिनियाँ दूतावासका डेपुटी चिफ कन्सुलर वाङ सिन, राखेपका सदस्य एवं आयोजक उसु महासंघका अध्यक्ष जनकप्रसाद बर्तौला, राखेपका सदस्य अन्जन धमला, प्रकाशकुमार कुसारी र पेमा डोल्मा लामा, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगायतको उपस्थिति थियो ।