हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता

हिमालय, टिभ्स, विल्सन र ब्राभो सेमिफाइनलमा

हिमालय एसइइ बास्केटबलमा ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको गर्ल्स बास्केटबलतर्फ आयोजक हिमालय स्कुल/ कलेज, टिभ्स ‘ए’, विल्सन र ब्राभो ‘ए’ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 कोटेश्वरस्थित घरेलु कोर्टमा हिमालयले ब्राभो ‘बी’ ८-६ ले पराजित गरेको हो । यसैगरी टिभ्स ‘ए’ ले मनास्लुलाई ७-५, विल्सनले टिभ्स ‘बी’ लाई ८-७ र ब्राभो ‘ए’ ले ओम ज्ञान मन्दिरलाई ९-४ ले पराजित गरे ।

सेमिफाइनलमा ब्राभो ‘ए’ ले विल्सन तथा हिमालयले टिभ्स ‘ए’ को सामना गर्नेछन् ।

यसैगरी ब्वाइज बास्केटबलमा भिएस, मनास्लु, सागर ‘बी’ र स्याम्बोले सेमिफाइनलमा स्थान सुरक्षित गरे । भिएसले सेबलाई ५-२, मनास्लुले सागर ‘ए’ लाई ७-५, सागर ‘बी’ ले टिभ्सलाई ९-७ र स्याम्बोले जनप्रेमीलाई १२-६ ले हराए । 

सेमिफाइनल भिएस र मनास्लु तथा सागर ‘बी’ र स्याम्बोबीच हुनेछ ।

 ब्वाइज फुटसलमा एनआईसीले अल स्टारलाई ४-३ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेको छ । फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्न बाँकी छ ।

प्रतियोगिताको हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र फाइनान्स डाइरेक्टर भुवनचक्र जोशीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

बास्केटबलमा ब्वाइजतर्फ ५० तथा गर्ल्सतर्फ १६ गरी ६६ टोली  सहभागी छन् । फुटसलमा ८ ब्वाइज टोलीले भाग लिएका छन् ।

दुवै खेलमा विजेताले १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् ।

विजेता र उपविजेता टोलीका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ । सहभागी टोलीका सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।