आइसिसी एकदिवसीय विश्वकप छनोट

जिम्बावेले दियो ओमानलाई ३ सय ३३ रनको लक्ष्य

काठमाडौं । सेन विलियम्सको शतकप्रेरित घरेलु टोली जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा ओमानसामू ३ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

क्विन्स स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३२ रनको योगफल तयार पारेको थियो ।

जिम्बावेका लागि विलियम्सले १ सय ३ बलमा १४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक १ सय ४२ रनको योगदान गरे । यसैगरी लुक जोन्गवेले अविजित ४३, सिकन्दर राजाले ४२, कप्तान क्रेइग इर्भिनले २५, विस्ली मेधेभेरेले २३,जोयलर्ड गाम्बीले २१, रायन बर्लले १३  र रिचार्ड नग्रभाले अविजित ११ रन बनाए ।

विलियम्सले चौथो विकेटका लागि राजासँग १ सय २ तथा तेस्रो विकेटका लागि मेधेभेरेसँग ६४ रनको साझेदारी गरे ।

ओमानका लागि फयाज बटले ४ तथा कालिमुल्लाह, बिलाल खान र कप्तान जिसन मक्सुदले समान १ विकेट लिए ।