मेयर कप यू-१८ पुरुष बास्केटबल प्रतियोगिता

कीर्तिपुर, ललितपुर, अन्नपूर्ण र नागर्जुन सेमिफाइनलमा

काठमाडौं । कीर्तिपुरस्थित कभर्डहलमा जारी कीर्तिपुर अन्तर नगरपालिका मेयर कप यू-१८ पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगितामा आयोजक कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका, अन्नपूर्ण गाउँपालिका र नागर्जुन नगरपालिकाले सेमिफाइनलमा स्थान पक्का गरे ।

कीर्तिपुर समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । मंगलबार कीर्तिपुरले ललितपुरलाई ८९-८० ले पराजित गरेको हो । कीर्तिपुरका आदित्य डंगोलले २६ अंक जोडे ।

सुरुआती तीन क्वार्टरमा २२-१७, २५-१५ र २७-२२ को अग्रता बनाएको कीर्तिपुरले चौथो तथा अन्तिम क्वार्टर भने १५-२६ ले गुमाएको थियो । पराजयका बावजुद ललितपुर पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

अन्नपूर्णले समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अन्नपूर्णले टोखा नगरपालिकालाई ९९-७७ ले हरायो । अन्नपूर्णका राजेश गर्बुजाले १८ स्कोर गरे ।

पहिलो क्वार्टरमा ३०-२४ को अग्रता लिएको अन्नपूर्ण दोश्रो क्वार्टरमा १६-१७ ले पछि परेको थियो । अन्नपूर्णले तेश्रो क्वार्टरमा ३१-२३ र चौथो तथा अन्तिम क्वार्टरमा २२-१३ ले अग्रता  लिँदै जित सुनिश्चित गर्यो ।

यही समूहबाट नागर्जुन नगरपालिकाले उपविजेका रूपमा सेमिफाइनल स्थान बनाएको छ ।

 सेमिफाइनलमा सेमिफाइनलमा अन्नपूर्णले ललितपुर तथा कीर्तिपुरले नागर्जुनको सामना गर्नेछन् । सेमिफाइनल बिहीबार हुनेछ ।