एनओसी महासचिव श्रेष्‍ठलाई ट्रायथलन संघको विदाई

काठमाडौं, (खेलाडी)- नेपाल ट्रायथलन संघले जापानमा हुने टोकियो ओलम्पिक २०२० मा सहभागि हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्‍ठलाई अनलाइन बैठक मार्फत विदाई गरेको छ ।

अध्यक्षलाई विदाई गर्दै संघका पदाधिकारीहरुले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारी तथा सदस्यहरुलाई सफलताको शुभकामना प्रदान गरे । सो अवसरमा ट्रायथलन संघका पदाधिकारीहरुले टोकियो ओलम्पिक दौरान नेपाली ट्रायथलनका लागि नयाँ कार्यक्रम ल्याउन पहल गर्न पनि अध्यक्ष श्रेष्‍ठलाई अनुरोध गरे ।

अध्यक्ष श्रेष्‍ठले २०२८ को ओलम्पिकलाई लक्ष्य गर्दै ट्रायथलनले टोकियो ओलम्पिक दौरान लबिङ गर्ने जानकारी गराउँदै नेपालका लागि पनि नयाँ कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पूरा प्रयास गर्ने आश्‍वासन दिए ।

अध्यक्ष श्रेष्‍ठ सोमबार जापान जाने छन् ।