महिला भलिबल टोलीले एसियाली च्याम्पियनसिप खेल्न नपाउने, बन्द प्रशिक्षण स्थगित

काठमाडौं, (खेलाडी)- कोभिड १९ को महामारीका कारण नेपाली महिला भलिबल टोली एसियाली प्रतियोगिता खेल्नबाट बञ्‍चित भएको छ । 

फिलिपिन्समा भदौ १३ देखि २० गतेसम्म हुने तय भएको २१औं एसियाली सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीलाई आयोजकले कोभिड १९ को महामारीका कारण सहभागि नगराउने निर्णय गरेपछि नेपालको तयारी अलपत्र परेको छ ।

आयोजक फिलिपिन्सले कोभिड १९ को संक्रमण नियन्त्रणमा नआएको भन्दै भारत र नेपाललाई प्रतियोगितामा सहभागि गराउन नसक्ने जनाउँदै एसियाली भलिबल महासंघमा पत्राचार गरेको थियो । महासंघले पनि फिलिपिन्सको अनुरोध स्विकारेपछि भारतसँगै नेपालले पनि प्रतियोगिता खेल्न नपाउने पक्का भएको हो । 

दक्षिण एसियाली स्तरमै सिमित रहँदै आएको नेपाली महिला भलिबल टोलीले खेल्न लागेको यो सबभन्दा ठूलो अन्तरर्राष्‍ट्रिय प्रतियोगिता थियो ।

नेपाल भलिबल संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै फिलिपिन्स सरकारको यो निर्णयबाट नेपाली महिला भलिबल टिमको भावनामा चोट पुगेको जनाएको छ ।

‘नेपाली खेलाडीहरुले यति ठूलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि त्यही अनुसारको तयारी गरिरहेका थिए,’ प्रतियोगिताको तयारीका लागि सञ्चालन गरिएको बन्द प्रशिक्षण सिविर पनि स्थगित गरिएको जानकारी गराउँदै भलिबल संघको विज्ञप्तिमा भनिएको छ ।