एञ्जिला तुम्बापो सुब्बा

चलचित्र ‘अञ्जिला’ अर्को वर्षको माघमा प्रदर्शन हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टाेलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ को प्रदर्शन मिति घोषणा गरिएको छ। 

आगामी वर्षको माघ ११ गतेदेखि चलचित्र प्रदर्शनमा आउने तय भएको निर्देशक मिलन चाम्सले बताए।

चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका छ। उनीसँगै दयाहाङ राई, मिरूना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तानलगायत कलकारको पनि अभिनय छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ पनि प्रमुख भूमिकामा छन्।

निर्माता श्रेष्ठले एञ्जिलाको कष्टकर बाल्यकालदेखि सफलतासम्मको कथा फिल्ममा देखिने बताए।

१४ वर्षदेखि एञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका श्रेष्ठले शिक्षा दीक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एञ्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए। उनले एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई प्रेरणको स्रोत बन्छ भन्ने लागेर फिल्म बनाएको बताए।

चलचित्र एञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौंका विभिन्न स्थानमा छायंकन गरिएको छ।

सुदीप बरालको डिओपी रहेको यस फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन्।