ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

अभिनासले दिलाए नेपाललाई चौंथो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले चौंथो सफलता हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले बलिङको निर्णय लिएको नेपालका लागि अभिनास बोहोराले १५औं ओभरको दोस्रो बलमा केसी कार्टीको विकेट लिँदै चौंथो सफलता दिलाएका हुन् ।

दीपेन्द्रसिंह ऐरीबाट क्याच हुनुअघि कार्टीले २६ बलमा दुई चौक्का र तीन छक्काको मद्धतमा ३८ रनको पारी खेले । ८६ रन हुँदा पहिलो तीन ब्याटरलाई गुमाएको वेस्ट इन्डिजको पारी कार्टीले सम्हालेका थिए ।

यसअघि कमल सिंह ऐरीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जोन्सन चार्ल्सको विकेट लिएका थिए । चार्ल्स खाता नै खोल्न नपाई कमलको बलमा क्लिन बोल्ड भएका थिए ।

त्यसपछि नेपालले चौंथो ओभरको तेस्रो ओभरमा आन्द्रे फ्लेचरलाई रन आउटको शिकार बनायो । दीपेन्द्रको बलमा फ्लेचरलाई कप्तान रोहितले रन आउट गरे । फ्लेचर १३ रन बनाउँदै पेभिलियन फर्केका हुन् ।

सातौं ओभरको पाँचौं बलमा एलिक अथानजेको विकेट लिँदै कप्तान रोहितले नेपाललाई तेस्रो सफलता दिलाएका थिए । ओपनर अथानजे रोहितको बलमा ललित राजवंशीबाट क्याच आउट भए । अर्धशतक बनाउन मात्र तीन रनबाट चुकेका अथानजेले २५ बलमा पाँच चौक्का र ६ छक्का प्रहार गरेको थिए ।

इन्डिजले १६ ओभरको समाप्तिमा १५९ रन जोडेको छ ।

यही जुन २ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप नेपालले इन्डिजविरुद्ध शृंखला खेल्दैछ । पाँच खेलको शृँखलामा नेपालले दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौंथो खेल बिहीबार र अन्तिम खेल शनिबार खेल्नेछ ।