ट्वान्टी-२० शृंखला

नेपाललाई २०५ रनको विशाल लक्ष्य

काठमाडौं । ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको हो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रनको योगदान दिए  । ओपनर एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै पाँचौं नम्बरका ब्याटर केसी कार्टीले ३८ रन जोड्दा कदीम अलेइनेले १४ र आन्द्रे फ्लेचरले १३ रनको योगदान गरे ।

नेपालका लागि कमलसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अभिनास बोहोरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

२०औं ओभरको तेस्रो बलमा चेजलाई दीपेन्द्रले पेभिलियनको बाटो देखाएका थिए । कुशल मल्लबाट क्याच आउट हुनुअघि चेजले  ४६ बलमा नौ चौक्का र दुई छक्काको मद्धतमा ७४  रन बनाए । जसका कारण वेस्ट इन्डिजले दुई सय रन पूरा गरेको हो ।

यसअघि कमलले पहिलो ओभरको अन्तिम बलमा ओपनर जोन्सन चार्ल्सको विकेट लिएका थिए । चार्ल्स खाता नै खोल्न नपाई कमलको बलमा क्लिन बोल्ड भएका थिए ।

चौंथो ओभरको तेस्रो ओभरमा फ्लेचरलाई रन आउटको शिकार बनाउँदा नेपालले दोस्रो सफलता हासिल गर्यो । दीपेन्द्र सिंहको बलमा फ्लेचरलाई कप्तान रोहितले रन आउट गरेका थिए ।

सातौं ओभरको पाँचौं बलमा एलिक अथानजेको विकेट लिँदै रोहितले नेपाललाई तेस्रो सफलता दिलाए । ओपनर अथानाजे रोहितको बलमा ललित राजवंशीबाट क्याच आउट हुन पुगे । जतिबेला वेस्ट इन्डिजले ८७ रन बनाएको थियो । अर्धशतक बनाउन मात्र तीन रनबाट चुकेका अथानजेले २५ बलमा पाँच चौक्का र ६ छक्का प्रहार गरेको थिए ।

तेस्रो विकेट गएपछि वेस्ट इन्डिजका लागि चेज र अथानाजेले ६० रनको अर्धशतकीय साझेदारी गरे । तर, अभिनास बोहोराले १५औं ओभरको दोस्रो बलमा केसी कार्टीको विकेट लिँदै नेपाललाई ब्रेक थ्रु दिलाए । दीपेन्द्रबाट क्याच हुनुअघि कार्टीले २६ बलमा दुई चौक्का र तीन छक्काको मद्धतमा ३८ रनको पारी खेले ।

यही जुन २ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप नेपालले इन्डिजविरुद्ध शृंखला खेलिरहेको छ । पाँच खेलको शृँखलामा नेपालले दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौंथो खेल बिहीबार र अन्तिम खेल शनिबार खेल्नेछ ।