कबड्डी लिग

कबड्डी लिगः आर्मी र पुसिलको विजयी सुरुआत

काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा पुरुष तथा महिला कबड्डी सुपर लिग बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ३९-२२ ले पराजित गर्यो । नेपाल पुलिस क्लबले उपत्यका टोलीबाट वाक ओभर पाएको आयोजकले जनाएको छ ।

महिलातर्फ नेपाल पुलिसले एपिएफलाई ३८-३० ले हरायो ।

प्रतियोगिताको उद्घाटन  राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिम्सिनाले  गरे ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार रुपैयाँ प्राप्त गर्ने कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

पुरुषमा चार र महिलामा तीन टोली सहभागी छन् । लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।