राष्ट्रिय महिला लिग

कर्णाली पहिलो पटक राष्ट्रिय महिला लिगमा

काठमाडौं । महिला लिग छनोटको अन्तिम खेलमा गण्डकी प्रदेशमाथि २-० को जित निकाल्दै कर्णाली प्रदेशले झापामा हुने भनिएको मुख्य प्रतियोगितामा स्थान बनाएको छ ।

घरेलु सुर्खेत रंगशालामा बिहीबार बिहान भएको खेलमा वर्षा ओली र संगीता बम्जनले गोल गरेपछि कर्णालीले महिला लिगमा स्थान पक्का गरेको थियो ।

कर्णाली प्रदेशको टिम महिला राष्ट्रिय लिगलाई छानिएको यो पहिलो पटक हो ।

अखिल नेपाल फुटबल संंघ (एन्फा)ले पहिलो पटक राष्ट्रिय लिगको छनोट प्रतियोगिता कर्णाली प्रदेशमा गरेको थियो । जहाँ घरेलु टोली ६ खेलमा चार जित निकाल्दै १२ अंकका साथ तेस्रो स्थानमा रहेर मुख्य लिगलाई छानिएको हो ।

प्रतियोगितामा सहभागी सात प्रदेशका टोलीले राउन्ड रोबिन पद्दतिअनुसार प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको अन्तिम खेल आजै सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच हुनेछ ।