पल्सर स्पोर्टस अवार्ड २०७९

हङकङका रेमन्डलाई एसियाली खेल पत्रकार सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस)को युवा पत्रकार प्रशिक्षण कार्यक्रम वाइयसआरका प्रमूख मेन्टर हङकङ स्पोर्टस प्रेस एसोसिएसनका अध्यक्ष रेमन्ड चु आइतबार पल्सर स्पोर्टस अवार्डमा एसियाली खेलकुद पत्रकार सम्मानबाट सम्मानित भएका छन् ।

एसियाली खेलकुद पत्रकार महासंघ एआइपिएस एसियाका पूर्व प्रथम उपाध्यक्ष रेमन्ड हङकङका चर्चित पत्रकार हुन् । नाउ टिभीका वरिष्ठ प्रोजेक्ट म्यानेजर उनी फुकुसिन प्रडक्सन हवका महाप्रवन्धक पनि हुन् ।

रेमन्डसँग विश्वका ठूला प्रतियोगिताहरुमा रिपोर्टिङको अनुभव छ । सन् १९९८ को शोल ओलम्पिक्स देखि उनले ६ वटा ओलम्पिक खेलकुदमा रिपोर्टिङ गरिसकेका छन् ।  

त्यस्तै उनले १९९० को इटाली विश्वकपयता पाँच वटा फुटबल विश्वकपको रिर्पोटिङ गरेका छन् । १९९० को बेइजिङ एसियाली खेलकुद देखि चार वटा एसियाली खेलकुदमा पनि रिर्पोटिङ गरेको अनुभव उनीसँग छ ।

हङकङ चाइनाको राष्ट्रिय खेलकुदमा उनले सन् १९९७ देखि नियमित समाचार संकलन गरिरहेका छन् । पत्रकारिताका अलावा उनी हङकङ एथलेटिक्स अवार्डका प्रमुख पनि हुन् ।  

पत्रकारिताको विशेष दक्षता हासिल गरेका रेमन्डमा नेतृत्व क्षमता बेस्सरी छ । एआइपिएसमा निक्कै प्रशंसित भएको आफ्नो मेन्टर कलालाई उनले सन् २०१३ देखि हङकङमा पनि शुरु गरे । जसमा हङकङ चीन र मकाउका युवा पत्रकारका साथै नेपाल लगायत अन्य एसियाली देशका पत्रकारहरुले पनि लाभ उठाइरहेका छन् ।

सन् २०१९ को कोभिड महामारी पछि उक्त वाइएसआर प्रशिक्षण रोकिएको छ । तर एसियामै उदाहरणीय बनेको उक्त कार्यक्रम उनले निकट भविष्यमै पुन थाल्दैछन् ।