पल्सर स्पोर्टस अवार्ड २०७९

मैयाको संघर्षलाई पारा एथलिट सम्मान

काठमाडौं । पारा ओलम्पियन मैया विशुंखेले नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट सम्मान हासिल गरेकी छिन् ।

जन्मँदै दायाँ हातको आधा भाग नभएकी मैयाले सानै उमेरदेखि आमा र बुबाको समेत छहारी नपाउनाका बावजुद नेपाली खेल क्षेत्रमा गरेको उल्लेख्य योगदानको कदरस्वरुप उनी सम्मानित भएकी हुन् ।

चार वर्षको उमेरमै आमाले त्यागेर अन्तै गएकी मैयालाई बुबाले बडो कस्टसँगग हुर्काएका थिए । १० वर्षकै उमेरमा बुबा पनि संसारबाट विदा भए ।

त्यसपछि मैया विशुंखे पूर्ण रुपमा अनाथ भइन् र एसओएस जोरपाटीको सहारामा पुगिन् । जीवन बुझ्न पाएकै थिएन । तर नियतीको कठोर परिक्षामा उभिइसकेकी थिइन् मैंया विशुंखे । यस्तोमा खेलकुद क्षेत्र उनको जीवन बदल्ने टर्निङ प्वाइन्ट बन्न पुग्यो ।  

एथलेटिक्समा अब्बल उनलाई एसओएसले सन् २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा सहभागि गरायो । उनले स्वर्ण पदक जितिन् । अनि एक पछि अर्को खेलमा च्याम्पियन बन्दै गइन् ।

जीवनमा आशाको नयाँ दियो बल्यो । अब्बल पारा खेलाडीका रुपमा उनले नयाँ पहिचान भेटिन् । दुई वर्षको बीचमा मैया सन् २००८ को बेइजिङ पारा ओलिम्पिकका लागि छनोट भइसकेकी थिइन् । तर दुर्भाग्य कोटा कम आएको भन्दै अन्तिम समयमा उनको नाम काटियो । दुःख माथि दुःख थपियो । तर उनले धैर्य छोडिनन् ।

त्यसपछि लगातार उनको खेलकुद यात्राले गति पायो । सन् २००९ मा जापानको युथ पारा गेम्स, सन् २०१० मा चीनको ग्वाङझाउमा भएको एसियाली पारा गेम्स र त्यसको २ वर्षपछि लन्डन ओलम्पिक पारा गेम्समा उनले देशको प्रतिनिधित्व गरिन् ।

खेलकुद अब मैयाको लागि एउटा माध्यम मात्र होइन, जीवन जिउने कला बनिसकेको छ । बरु अहिले उनको भूमिका परिवर्तन भएको छ । अब अरु ‘डिसेबल’ हरुलाई पनि खेल क्षेत्रमार्फत संसारसँग जुध्न सिकाउने अभियान उनले अगाडि वढाएकी छिन् ।

भर्खरै मात्र उनले डिसेबलहरुको नयाँ खेल ‘पारा थ्रो बल समाज नेपाल’  स्थापना गर्दै अध्यक्षको जिम्मेवारी लिएकी छिन् ।

उनी भन्छिन, ‘फरक क्षमताका थुप्रै मान्छेहरु अहिले पनि घरबाट बाहिर निस्किन सकेका छैनन् । तिनीहरुलाई अगाडी ल्याउने मेरो उदेश्य हो ।’