पल्सर स्पोर्टस अवार्ड २०७९

भारोत्तोलनका जीवित इतिहासलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । ६९ वर्षका राजेन्द्रकुमार प्रधान बोल्न सक्दैनन, सुन्न सक्दैनन् । तर उनले जे गर्न सके र गरिरहेका छन्, त्यो नेपाली खेलकुद क्षेत्रको अहिलेसम्मकै एक भिन्न उदाहरण बनिरहेको छ ।

बोल्न र सुन्न नसके पनि यी ज्येष्ठ नागरिकको पूरा जीवनले नेपाली भारोत्तोलनको साढे पाँच दशकको सिंगो इतिहास बोकेको छ । प्रधानसँगको त्यो इतिहास आइतबार एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएको छ ।

हातमा बलियो सिप होस् भनेर राजेन्द्रका बुबा सुर्यबहादुर प्रधानले उनलाई सानैमा क्युरियो कलामा लगाइ दिएका थिए । तर उनको भाग्यले त अर्कै कथा पर्खेर बसेको थियो ।

घर छेउको नेपाल ब्यायाम मन्दिरमा जिउ बनाउनेहरुको भीड देखेर राजेन्द्रको ध्यान उतै तानियो । अनि फलाम उचाल्न तिर एकोहोरिए राजेन्द्र । गज्जबको जिउडाल बन्यो । १७ वर्षको उमेरमा ‘मिस्टर काठमाडौं’ अनि पावर लिफ्टिङमा ‘स्ट्रङगेस्ट म्यान अफ काठमाडौं’को उपाधि जितेपछि खेल क्षेत्रमा उनको औपचारिक प्रवेश भयो ।

खेलकुद परिषदको पौडी पोखरीमा लाइफ गार्डको जागिर खाने अनि परिषदको हलमा जिम गर्ने उनको दिनचर्या थियो । त्यसैबेला नेपालले सन् १९७८ को बैंकक एसियाली खेलकुदमा भाग लिंदै थियो र त्यसमा भारोत्तोलन खेल समावेश थियो ।

तत्कालिन राखेपका संरक्षक धीरेन्द्र शाहको आँखा हट्टा कट्टा राजेन्द्रमाथि पर्यो । त्यसपछि उनी भारोत्तोलन खेलाडीका रुपमा बैंकक एसियाडलाई छानिए । सुन्दा कथा जस्तै लाग्ने। तर बडिविल्डर राजेन्द्रलाई भारोत्तोलन बारे केही थाहा थिएन ।
 

यस्तो अनौठो ढंगले अन्तर्राष्ट्रिय खेलमा उनको प्रवेश भयो तर पारिवारिक बिछोडका साथ । बैंकक जानु अगाडि उनकी आमाको निधन भयो ।

बहिनी लक्ष्मी प्रधान भन्छिन्, ‘मुमाले छोरा विदेशमा खेल्न जाने कुरा थाहा पाउनुभयो । त्यतिबेला मुमा विरामी हुनुहुन्थ्यो । अनि मुमाले कथम् कदाचित मलाई केही भयो भने छोरालाई नरोक्नु भन्नु भएको थियो । यहीकारण मुमा वित्नु भयो । तर बुबाले छोरालाई रोक्नुभएन । आमा वितेको १० दिनपछि नै दाई एसियाली खेलकुदमा जानुभयो ।’
 
शारिरिक सुगठनका खेलाडीलाई बैंककमा आयोजकले खेल्न दिने त कुरै भएन । खेल्नै नपाए पनि उनले भारोत्तोलनको प्रतिस्पर्धा हेरे र एउटा अठोट लिएर फर्किए ।

फर्किएपछि राजेन्द्रले भारोतोलनमा आफ्नो जीवननै समर्पित गरिदिए । २०३६ सालमा उनी नेपालको पहिलो भारोत्तोलन च्याम्पियन बने । दुई वर्ष पछिको मस्को ओलम्पिक खेल्दै नेपालको पहिलो ओलम्पिक भारोत्तोलक बने ।

फेरी मस्को जाने बेला बुबाको निधन भयो । १० दिनको क्रिया छोडेर उनी ओलम्पिक अखाडामा उत्रिए । अब उनको जीवनले एउटा स्पस्ट लक्ष्य पाइसकेको थियो । अनि उनी भारोत्तोलनमा यसरी लागे की जीवन नै त्यसमा समर्पित गरिदिए । खेल जीवनपछि प्रशिक्षक बने ।

अचम्म लाग्न सक्छ, आवाज नभएको ब्यक्तिले कसरी प्रशिक्षण दिन्छ होला । तर उनी नेपालको अब्बल दर्जाका प्रशिक्षक र अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् । यो प्रमाणित सत्य हो ।

उनी सन् १९९० को बेइजिङ एसियाली खेलकुद, काठमाडौंमा भएको आठौं एसियाली खेलकुद र श्रीलंकामा भएको १०औ एसियाली खेलकुदमा नेपाली भारोत्तोलन टिमको प्रशिक्षक थिए ।

राष्ट्रिय भारोत्तोलन खेलाडी तारादेवी पुन भन्छिन्, ‘उहाँले नसिकाउनु भएको खेलाडी नेपालमा कोही नै छैन । उहाँको भाषा नबुझ्ने खेलाडी पनि कोही छैन ।’

नेपालका सबै चर्चित खेलाडिहरु राजेन्द्रका चेला चेली हुन् । खेलकुदले उनलाई लक्ष्य दियो । कमाउने माध्यम दियो । आवाज विहिन भएर दविएर बस्नु परेन । एउटा इज्जतिलो जिन्दगी दियो । तर आवाज नभएकै कारण धेरै अवसरहरुबाट भने वञ्चित हुनुपर्यो ।

राष्ट्रिय खेलाडी गोपाल श्रेष्ठ भन्छन्, ‘आवाज भएको भए उहाँ धेरै नै माथी पुग्नु हुन्थ्यो । कतिपय अवसरहरु उहाँले त्यसकै कारण गुमाउनु पर्यो ।’

एकपटक त राजेन्द्रको राखेपको प्रशिक्षक जागिर नै गुमेको थियो । त्यो बेला सम्झिँदै उनका भाई देवेन्द्र प्रधान भन्छन्, ‘पत्रिकामा नाम नै आइसकेको थियो । बच्चाहरु सानै थिए । कसरी जीवन चलाउने भनेर उनी निकै नै दुखी हुनु भएको थियो ।’

तर उनको क्षमता देखेरै होला राजेन्द्रको जागिर थमौती भयो । अहिले उनी राखेपबाट रिटायर्ड भएको पनि ११ वर्ष भइसक्यो । तर भारोत्तोलनमा सकृयता पटक्कै घटेको छैन । अहिले पनि रंगशालको भारोत्तोलन हलमा चक्कर नकाटी चित्त बुझ्दैन ।

नेपाल भारोत्तोलन संघले उनलाई केन्द्रिय सदस्यको सम्मान दिएको छ । श्रीमती, एक छोरा र एक छोरीसँग जीवन आरामले चलिरहेको छ । भारोत्तोलनमा उनको इशारा नै आवाज बनिसकेको छ ।