एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड

स्पोर्टस अवार्डः उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटको वर्चश्व

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि शुक्रबार उत्कृष्ट वर्ष खेलाडीको सार्वजनिक गरेको छ ।

यसअघि घोषणा भएको आठ खेलाडीको प्रारम्भिक मनोनयनबाट शीर्ष तीन छानिएका हुन् ।  उत्कृष्ट पुरुष खेलाडीको  शीर्ष तीनमा दुई क्रिकेट र एक एथ्लेटिक्सका खेलाडी परेका छन् ।

शीर्ष तीनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र आसिफ शेख र एथलेटिक्सका दीपक अधिकारी छन् ।

आठ खेलाडीको मनोनयनमा एट्लेटिक्सका मुकेश पाल, भलिबलका मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसेन, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ पनि थिए ।

अवार्ड समारोह यही माघ २८ गते होटल याक एण्ड यतिमा हुँदैछ ।

वर्षका उत्कृष्ट पुरुष खेलाडी

रोहित पौडेल (क्रिकेट)
नेपालले आइसिसी विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मायन्ता जोगाउँदा रोहितले टोलीको कप्तानी सम्हालेका थिए ।

वर्ष २०७९ मा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै चार अर्धशतकसहित ६९ रन बनाएका थिए । जसमा स्कटल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रन पनि सामेल छ ।

आसिफ शेख (क्रिकेट)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफले वर्ष २०७९मा एकदिवसीय अन्तर्राष्ट्रियमा कुल १ हजार ९३ रन बनाएका थिए । जसमा विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध बनाएको ११० रनको शतकीय इनिङ पनि सामेल छ ।

यो वर्ष उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सात अर्धशतक पनि प्रहार गरेका थिए ।

दीपक अधिकारी (एथलेटिक्स)
दीपकले वर्ष २०७९ मा  एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण, घरेलु प्रतियोगितामा चार स्वर्ण र एक रजत पदक जितेका थिए ।

१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमि तथा पुरुष टिम इभेन्टमा स्वर्ण जितेका दीपकले नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारेका थिए ।

यसैगरी दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण चुमेका उनले कान्तिपुर हाफ म्याराथनमा भने रजत पदक प्राप्त गरे ।