मैत्रीपूर्ण फुटबल

मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर होः प्रशिक्षक एनेस

फाइल फोटो

काठमाडौं । नेपाली युवा टोलीका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको नेपाल-चीन मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर भएको बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले खेलाडी विदेशीएको कुरामा नभई आफूले प्रशिक्षणमा ध्यान दिएको बताएका हुन् ।

‘हामीले आठ दिनको कडा प्रशिक्षण गर्यौ। यो स्तरका खेलाडीले सिनियर टिमको स्तर भेट्टाउनुपर्छ । नेपालबाट खेलाडीमात्र नभई पत्रकार, डाक्टर, इन्जिनियर पनि अवसर पाए विदेश जान्छन् । यो निक्कै दुःखद हो । तर, भोलिको खेलअघि हामीले त्यसबारे सोचेका छैनौँ,’ एनेसले भने,‘नेपालले गत वर्ष एसियन गेम्समा यु–२३ पुरुष फुटबल खेल्न पाएन । तर, अहिले चिनियाँ क्लबसँग युवा टिमले अवसर पाएको छ ।’

यस्तै, चिनियाँ क्लबसँगको खेलका लागि नेपाली यूवा टिमको कप्तानी जिम्मेवारी पाएका मनिष डांगीले पनि खेलाडी विदेशीएको कुरामा भन्दा प्रशिक्षणमा ध्यान दिएको बताए ।

‘प्रशिक्षणका लागि आठ दिनको समय पायौँ । समय कम भए पनि तयारी राम्रो भएको छ । खेलाडी विदेशीएको कुरामा त्यति धेरै ध्यान दिएको छैन । हामी भोलिको खेलमा मात्र केन्द्रित छौँ,’ मनिषले भने ।

यसैगरी चिङ्घाई फुटबल क्लबका प्रशिक्षक ले नेपाली टोलीसँग खेल्नु आफूहरुका लागि अवसर र सांस्कृतिक आदनप्रदान गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘नेपाली टोली राम्रो छ । दुई देशको सम्बन्धलाई राम्रो बनाउनेछ । भोलि हामीले नेपालमा खेल्नेछौं  । आगमी दिनमा हामी नेपाली टोलीलाई चीनमा  निमन्त्रणा गर्न चाहन्छाैं । लगभग एक महिनाको तयारी गरेर आएका छौं । सांस्कृतिक आदनप्रदानका लागि यो खेल निक्कै महत्वपूर्ण हुनेछ । युवा खेलाडीले भरिएको खेल निकै रोचक हुनेछ,’ चिनीयाँ प्रशिक्षकले भने ।

नेपालस्थित चीनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो ।मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सहआयोजकमा एन्फा र नेपाल ओभरसीज चीनियाँ संघ रहेका छन् ।

खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

मैत्रीपूर्ण खेलमा लागि चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगिसकेको छ । खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एन्फाले टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँ.ल्हसा काठमाडौँको हवाई टिकट समेत प्रदान गरिने जानकारी दिएको छ ।