भारतको खेल बजेट

भारतको खेलकुद बजेट साढे ३४ अर्ब भारतीय रुपैयाँ

काठमाडौं । भारत सरकारले वर्ष २०२४-२५ का लागि खेलकुदलाई ३४ अर्ब ४२ करोड ३२ लाख भारतीय रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको यो बजेटअनुसार खेलकुद मन्त्रालयले गत वर्षको तुलनामा ४५ करोड ३६ लाख रुपैयाँ बढि पाएको हो । गत वर्ष खेलकुद मन्त्रालयले ३३ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ पाएको थियो ।

भारतको खेलकुद बजेटमा आगामी जुलाई २६ देखि अगस्ट ११ सम्म पेरिसमा हुने ओलम्पिकलाई प्रमूख महत्व दिइएको छ ।

भारतीय खेलकुद मन्त्रालयको मुख्य कार्यक्रम खेलो इन्डिया (खेल भारत) कार्यक्रमका लागि ९ अर्ब रुपैयाँ छुट्याइएको छ । जुन अघिल्लो वर्षको भन्दा २० करोड बढि हो । यसैगरी राष्ट्रिय खेल महासंघहरुलाई ३ अर्ब २५ करोड रुपैयाँ प्रदान गरिनेछ भने खेलाडी प्रोत्साहन तथा राष्ट्रिय खेल विज्ञान तथा अनुसन्धान केन्द्रको बजेट घटाइएको छ ।

केन्द्रको बजेट १० करोडबाट घटाएर आठ करोडमा झारिएको छ भने खेलाडी प्रोत्साहनको बजेट पनि गन वर्ष ८४ करोड रहेकोमा यसपाली ३९ करोडमात्र विनियोजन गरिएको छ । यसैगरी राष्ट्रिय खेल विश्वविद्यालयको लागि गत वर्ष ८३ करोड ८१ लाख रुपैयाँ दिइएकोमा यसपाली बढाएर ९० करोड ९१ लाख पुर्याइएको छ ।