पहिलो हाफमा फ्रान्सको अग्रता

दोहा । स्ट्राइकर ओलिभर जिरौउडको गोलमा फ्रान्सले कतार विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ मा पोल्यान्डविरुद्धको पहिलो हाफमा १-० को अग्रता लिएको छ 

४४औं मिनेटमा जिरौउडले किलियन एमबाप्पेको पासमा गोल गरेका थिए । जारी विश्वकपमा उनको यो तेस्रो गोल हो । समूह चरणको पहिलो खेलमा उनले अस्ट्रेलियाविरुद्ध ४-१ को जित निकालेको खेलमा दुई गोल गरेका थिए ।

फ्रान्सका लागि जिरौउडको यो ५२औं अन्तर्राष्ट्रिय गोल हो । यससँगै उनी फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । थिएरी अनरीको नाममा ५१ गोलको कीर्तिमान थियो ।

फ्रान्स समूह डी को विजेताको रुपमा अन्तिम १६मा प्रवेश गरेको थियो भने पोल्यान्ड समुह सी को उपविजेताको रुपमा अन्तिम १६ प्रवेश गरेको थियो । 

साबिकको विजेता फ्रान्स उपाधि रक्षको लक्ष्यमा रहेको छ । 

यसअघि शनिबार अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्यान्ड्स र अर्जेन्टिना अस्ट्रेलियालाई हराउँदै क्वार्टरफाइनमा प्रवेश गरेको थियो ।

पोल्यान्ड सन् १९८६ पछि पहिलो पटक प्रतियोगिताको क्वार्टरफाइनमा स्थान बनाउन चाहन्छ । 

सन् २००२ र २०१८ मा पोल्यान्डको यात्रा समूह चरणमा सीमित भएको थियो ।

फ्रान्स र पोल्यान्डबीचको विजेताले क्वार्टरफाइनलमा इङल्यान्ड र सेनेगलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।