आइसिसी विश्वकप क्रिकेट लिग टु

नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ ।

नामिबियास्थित युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा नेपालले प्रस्तुत गरेको एक सय ३८ को लक्ष्य स्कटल्यान्डले  ३२.२ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो ।
स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले सर्वाधिक ४३ रनको योगदान दिए ।
नेपालका लागि सागर ढकाल,गुल्सन झा  र ललितनारायण राजवंशीले समान दुई तथा दिपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २५,अर्जुन साउदले १८,कप्तान रोहितकुमार पौडेलले १७ र आरिफ शेखले १० रन जोडे ।

स्कटल्यान्डका लागि क्रिस सोलेले तीन,मार्क वाटले दुई तथा ब्रान्डन  म्याकमुलेन, सफ्यान सरिफ र माइकल लीस्कले समान एक विकेट लिए ।

यो हारपछि नेपाल २२ खेलमा १८ अंकसहित छैटौ स्थानमा कायम छ । जित निकालेको स्कटल्यान्ड भने ३० खेलबाट ४४ अंकसहित शीर्ष  स्थानमा उक्लिएको छ ।

त्रिकोणात्म शृंखलाको पहिलो खेलमा बिहीबार स्कटल्यान्डले नामिबियालाई चार विकेटले पराजित गरेको थियो । नेपालले भने शुक्रबार वर्षा बाधक बन्दा नामिबियासँग अंक बाँडेको थियो ।