नियमित उपचार भैरहेको छ, मैले हिम्मत हारेको छैनः पेले

दोहा । आफ्नो स्वास्थ्य अवस्था गम्भिर भएको भन्दै खबरहरु सार्वजनिक भैरहँदा ब्राजिलका लिजेन्ड पेलले भने धैर्यताका साथ सकारात्मक सोच राख्न आग्रह गरेका छन् ।

पेलेको शरीरिले प्रतिक्रिया जनाउन छोडेकाले उनलाई प्यालिएटिभ केयरमा सारिएको र उनको किमोथोरापी पनि रोकिएको खबर सार्वजनिक भएको थियो ।

पेलेले एक विज्ञप्त्ति जारी गर्दै आफ्नो उपचार भैरहेको र छिटै अस्पतालबाट डिस्चार्ज हुनेमा आशाबादी रहेको बताएका छन् ।

अस्पतालले भने तीन पटकका विश्व विजेता पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ ।

पेलेको शल्यक्रियामार्फत गत वर्ष कोलोनको ट्युमर निकालिएको थियो ।

किलियन एमबाप्पे, ह्यारी केन, भिनिसियस जुनियरजस्ता स्टार खेलाडीले सामाजिक संजालमार्फत पेलेको स्वास्थ्य लाभको कामना गरेका थिए ।

‘म सबैलाई धैर्य हुन र सकारात्मक सोच राख्न आग्रह गर्न चाहन्छु । मैले अझै हिम्मत हारेको छैन । मेरो नियमित उपचार भैरहेको छ र म छिट्टै अस्पतालबाट घर फर्कनेमा आशाबादी छु’, पेलेले जारी गरेको विज्ञप्क्तिमा  भनिएको छ, ‘म मेरो उपचारमा संलग्न चिकित्सक र उनका टोलीलाई धन्यवाद दिन चाहन्छु । मलाई भगवानप्रति धेरै विश्वास छ । सबैले स्वास्थ्य लाभको कामना गर्दै पठाउनु भएको सन्देशले मेरो मनोबल थप बढेको छ । मैले कतार विश्वकपमा ब्राजिलको खेल पनि हेरिहेको छु । सबैलाई धन्यवाद ।’

पेलेले १९५८, १९६२ र १९७० मा गरि तीन पटक विश्वकपको उपाधि जितेका थिए ।