अन्तिम १६

अर्जेन्टिना क्वार्टरफाइनलमा

दोहा । कप्तान लियोनल मेसीले विश्वकपको नकआउट चरणमा आफ्नो गोल खडेरी तोडेको दिन अर्जेन्टिनाले शनिबार अस्ट्रेलियालाई २-१ ले निराश पार्दै कतार विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्स शनिबार नै अमेरिकालाई ३१ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको थियो ।
अहमेद बिन अली रंगशालामा खेलको आधा घण्टासम्म अर्जेन्टिनालाई गोल गर्नबाट रोक्दै अस्ट्रेलियाले मेसीको टोलीलाई निराश पार्ने संकेत गरेको थियो ।

३५औं मिनेटमा मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लियो ।५७औं मिनेटमा अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए । अस्ट्रेलियाका गोलकिपर म्याथ्यु रायनले गरेको गम्भिर गल्तीको फाइदा उठाउँदै अल्भारेजले गोल गरेका थिए ।

७७औं मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजको आत्मघाती गोलमा अस्ट्रेलियाले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।

मेसीले यसअघि विश्वकपको चार संस्करणसम्म समूह चरणमा मात्र गोल गरेका थिए । जारी प्रतियोगितामा मेसीको यो तेस्रो गोल हो । उनले समूह चरणमा साउदी अरेबियाविरुद्ध तथा मेक्सिकोविरुद्धको दोस्रो खेलमा समान एक गोल गरेका थिए ।

रुस विश्वकपमा भने अर्जेन्टिनाको यात्रा अन्तिम १६ मा अन्त्य भएको थियो ।

अर्जेन्टिनाले सन् १९७८ को विश्वकपको फाइनल र २०१४ को विश्वकप सेमिफाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।