कतार विश्वकप २०२२

नेदरल्यान्ड्स क्वार्टरफाइनलमा, कन्काकाफको चुनौती समाप्त

प्रशिक्षक लुइस भान हालसँग गोलको खुसी मनाउँदै नेदरल्यान्ड्सका ब्लाइन्ड ।

काठमाडौं । डेन्जेल डम्फ्रिसको उत्कृष्ट प्रदर्शनबाट प्रेरित नेदरल्यान्ड्सले अमेरिकाको चुनौती ३-१ को नतिजामा पार लगाएर कतार विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

डम्फ्रिस आफैले एक गोल गरेको खेलमा बाँकी दुई गोलका लागि अवसर सिर्जना गर्नुका साथै गोललाइनबाट विपक्षीको एउटा प्रहार जोगाएर नेदरल्यान्ड्सलाई जितको बाटोमा डोर्याएका थिए । नेदरल्यान्ड्सको क्वार्टरफाइनल यात्रामा डम्प्रिफससँगै मेम्फिस डिपे र डेले ब्लाइन्डले पनि एक/एक गोल गरे ।

डम्फ्रिसको क्रसलाई गोलमा परिणत गर्दै डिपेले १०औं मिनेटमा नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डेले ब्लाइन्डले डच टोलीको अग्रता दोब्बर पारे । दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा डम्फ्रिसकै क्रसलाई ब्लाइन्डले पनि गोलमा परिणत गरेका थिए ।

७५औं मिनेटमा डच रक्षकको गल्तीको फाइदा उठाउँदै हाजी राइटले खाली पोष्टमा प्रहार गरेको बल गोललाइनबाट क्लियर गरेर डेम्फ्रिसले नेदरल्यान्ड्सको विजय आधार कायम राखेका थिए । तर, खाली पोष्टमा गोल गर्न नसकेका राइटले लगत्तै विपक्षी खेलाडीकै गल्तीमा प्राप्त अवसरमा गोल गरेर आफ्नो गल्ती सुधारेका थिए ।

डम्फ्रिसले गोललाइनबाट क्लियर गर्दा भएको कर्नरमा अमेरिकाका फरवार्ड क्रिस्टियन प्युलिसिचको प्रहार डच रक्षापंक्तिले क्लियर गर्यो । तर, डच खेलाडीको मिसपासमा फाइदा उठाउँदै प्युलिसिचले दिएको पासमा राइटले गोल गर्दै ७८औं मिनेटमा अमेरिकाको खेलमा फर्किने आशा जगाएका थिए ।

तर, अमेरिकाले त्यो गोलमा धेरैबेर खुसी मनाउन पाएन । नेदरल्यान्ड्सले तत्काल प्रतिक्रिया जनाउने क्रममा ८१औं मिनेटमा दुई गोलको अग्रता पुनस्थापित गर्यो । यसपाली पनि नेदरल्यान्ड्सका लागि डम्फ्रिस नै नायक भए ।ब्लाइन्डको क्रसमा उत्कृष्ट भलीमार्फत डम्फ्रिसले गोल गर्दै युरोपेली महारथीको अन्तिम आठ यात्रा पक्का गरे । अमेरिका बाहिरिएसँगै जारी विश्वकपमा उत्तर तथा मध्य अमेरिकी टोलीहरुको चुनौती समाप्त भएको छ । कन्काकाफबाट कतार यात्रामा निस्किएकामध्ये मेक्सिको, क्यानाडा र कोस्टारिका समूह चरणबाटै विदा भइसकेका थिए ।

शुक्रबार हुने क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले दुई पटकको पूर्व विजेता अर्जेन्टिना र अस्ट्रेलियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल आजै राति १२ः४५ बजे हुनेछ ।