कतार विश्वकप २०२२

शीर्ष २० वरियताका सात टोली समूह चरणबाटै घर फर्किए

काठमाडौं । फिफा विश्व वरियताको शीर्ष २० मा रहेकामध्ये ९ टिम कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा अनुपस्थित हुने भएका छन् ।

चार पटक विश्वकप जितिसकेको छैटौं वरियताको युरोपेली महारथी इटाली र १७औं वरियताप्राप्त दक्षिण अमेरिकाको कोलम्बिया यसपाली विश्वकपमा छनोट नै भएका थिएनन् । पहिलो चरणमा केही स्तब्धतापूर्ण नतिजा निस्किँदा दोस्रो वरियताको बेल्जियमसहित अन्य सात टिम समूहका तीन खेल खेलेर बिदा भएका छन् ।

पहिलो चरण पार गर्न असफल हुनेमा प्रतियोगिताकै मुख्य दाबेदार मानिएको बेल्जियम, चार पटकको पूर्व विजेता ११औं वरियताको जर्मनी र १०औं वरियताप्राप्त डेनमार्क पनि छन् । यसैगरी १३औं वरियताको उत्तर अमेरिकी टोली मेक्सिको र दुई पटकको च्याम्पियन १४औं वरियताको दक्षिण अमेरिकी महारथी उरुग्वे पनि समूह चरण पार गर्न सफल भएनन् ।

त्यस्तै ६४ वर्षपछि विश्वकपमा पुनरागमन जनाएको बेलायती टोली १९औं वरियताको वेल्स र २०औं वरियताप्राप्त एसियाली महारथी इरानको यात्रा पनि विश्वकपमा पहिलो चरणभन्दा अगाडि बढ्न सकेन ।

२१औं वरियताको युरोपेली टोली सर्बिया, २०औं वरियताको अफ्रिकी टोली ट्युनिसिया, मध्य अमेरिकाको ३१औं वरियताप्राप्त कोस्टारिका, उत्तर अमेरिकाको ४१औं वरियताप्राप्त क्यानाडा, अफ्रिकाको ४३औं वरियताप्राप्त क्यामरुन, दक्षिण अमेरिकाको ४४औं वरियताप्राप्त इक्वेडर, विश्व वरियताक्रमको ५०औं स्थानमा रहेको आयोजक कतार, उद्घाटन खेलमै अर्जेन्टिनालाई स्तब्ध पारेको ५१औं वरियताप्राप्त एसियाली टोली साउदी अरेबिया र ६१औं वरियताको अफ्रिकी टोली घाना समूह चरणबाट बाहिरिने थप टिम हुन् ।

शीर्ष वरियताको ब्राजिलसँगै विश्वकपको नकआउट चरणमा शीर्ष १० वरियताका सात टोली उपस्थित छन् । तेस्रो वरियताको अर्जेन्टिना, चौथो वरियताको साविक विजेता फ्रान्स, पाँचौं वरियताको इङ्ल्यान्ड, सातौं वरियताको स्पेन, आठौं वरियताको नेदरल्यान्ड्स र नवौं वरियताको पोर्चुगलले समूह चरण पार गरेका छन

यसैगरी समूह चरण पार गर्न सफल अन्य टोलीमा १२औं वरियताको क्रोएसिया, १५औं वरियताको स्विट्जरल्यान्ड, १६औं वरियताको अमेरिका, १८औं वरियताको सेनेगल, २२औं वरियताको मोरक्को, २४औं वरियताप्राप्त जापान, २६औं वरियताप्राप्त पोल्यान्ड, २८औं वरियताको दक्षिण कोरिया र ३८औं वरियताप्राप्त अस्ट्रेलियाले आआफ्नो समूहबाट नकआउट चरणको यात्रा पक्का गरेका छन् ।