वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रदेश एकको जित

काठमाडौं । प्रदेश एकले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा शनिबार कर्णालीले प्रस्तुत गरेको एक सय ५३ रनको लक्ष्य प्रदेश एकले ३१.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो । प्रदेश एकका लागि सोनु अन्सारीले सर्वाधिक ४५ रनको योगदान दिए ।

त्यस्तै भुपाल दंगालले अविजित ४२ र कप्तान दिपेश कँडेलले २९ रन बनाए । तेस्रो विकेटका लागि भुपाल र दिपेशले अविजित ५७ रनको साझेदारी गरेका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि सुवास ऐरले सर्वाधिक ४७ रनको योगदान दिए । मोहन विकले अविजित २९,मनिष थापाले २६,युनिस सिंहले १३ र कप्तान विपिन रावलले ११ रन जोडे ।

प्रदेश एकका लागि दीपेश कँडेल र अनिश ओझाले समान तीन,अभिनय राजवंशी,विपिन महतो,सन्देश भट्टराई र अश्विन महतोले समान एक विकेट लिए ।

६ खेलमा ६ अंक जोडेको प्रदेश एक चौथो स्थानमा रह्यो भने समान खेलमा एक जित मात्र निकालेको कर्णाली दुई अंकसहित छैटौं स्थानमा रह्यो ।