ब्राजिल

आलोचनालाई सकारात्मक उर्जाका रुपमा लिन नेइमारलाई रोनाल्डोको सुझाव

दोहा । ब्राजिलका विश्वविजेता खेलाडी रोनाल्डोले कुर्कुच्चाको चोटका कारण बाहिर रहेका नेइमारले आलोचनाबाट निराश हुनुभन्दा पनि त्यसलाई सकारात्मक उर्जाको रुपमा लिएर छिटो भन्दा छिटो मैदानमा पुनरागमन गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

कतार विश्वकप २०२२ अन्तर्गत समूह जी मा सर्बियाविरुद्ध २–० को जित निकालेको खेलमा नेइमार घाइते भएका थिए । ब्राजिलले आज आफ्नो दोस्रो खेलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । सो खेलमा नेइमार मैदान नउत्रने पक्का भैसकेको छ । त्यस्तै क्यामरुनविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा पनि नेइमार मैदान उत्रने सम्भावना न्युन रहेको छ ।

सन् २०१४ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा टोलीलाई छैटौ पटक उपाधि जिताउने लक्ष्य राखे पनि त्यसले सफलता पाएन । उनले चोटका कारण जर्मनीविरुद्धको सेमिफाइनल गुमाएका थिए । 

ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्वकप उपाधि जितेको थियो । जर्मनीलाई हराउँदै पाँचौ पटक विश्वकप जित्दा रोनाल्डो टोलीका प्रमुख खेलाडी थिए । उनले फाइनलमा दुई गोल गरेका थिए । 

‘अहिले पनि ब्राजिलमा मलाई धेरैले सम्मान गर्छन । मेरो पनि आलोचना नभएको होइन',रोनाल्डोले भने, 'अरुले आफ्ना बारेमा चलाएको हल्लामा केन्द्रित हुनमा केही अर्थ छैन । आलोचनालाई सकारात्मक रुपमा लिदै स्वभाविक खेलमा ध्यान केन्द्रित गरे धेरै सफलता मिल्छ । म नेइमारलाई खेलमा फर्कनेमा केन्द्रित हुन आग्रह गर्न चाहन्छु । ’