पोर्चुगल

रोनाल्डोमाथि कुनै दबाब छैनः प्रशिक्षक सान्तोस

दोहा । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले कप्तान क्रिस्टियानो रोनाल्डोसँग जस्तोसुकै दबाबलाई पनि सामना गर्न सक्ने क्षमता रहेको बताएका छन् । 

विश्व फुटबलका सर्वकालिन गोलकर्ता रोनाल्डोले कतार विश्वकप सुरु हुनभन्दा केही दिन अघि दिएको एक टेलिभिजन  अन्तरवार्ता विवादमा तानिएको थियो । उनले क्लब पदाधिकारी र प्रशिक्षक इरिक टेन हाग आफ्नो विपक्षमा रहेको बताएका थिए । यद्धपी अहिले भने युनाइटेड र रोनाल्डोबीचको आपसी सहमतीमा क्लबसँगको सम्झौता रद्द भइसकेको छ । हाल उनी क्लबविहिन छन् । 

‘हामीले रोनाल्डोलाई कुनै दबाब दिएका छैनौंः’ प्रशिक्षक सान्तोसले भने ।

समूह एच को पहिलो खेलमा बिहीबार घानामाथि ३–२ को जितमा  गोल गर्दै  रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडीको कीर्तिमान बनाएका थिए ।

सान्तोसले पोर्चुगलले आफ्नो कप्तानको काँधमा धेरै दबाब दिने कुरालाई भने अस्वीकार गरेका छन् । 

‘हामीसँग अरूभन्दा उत्कृष्ट खेलाडी छन ,त्यसैले उनीहरुले दबाबको सामना गर्न आवश्यक छैन,’सान्तोसले उरुग्वे विरुद्ध खेल अघि पत्रकार सम्मेलनमा भने, उनीहरूले आफूलाई एक विशेष तरिकामा अभिव्यक्त गर्छन्। सबैका आ–आफ्ना विशेषताका छन्, सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरु एक टोलीको रूपमा सँगै खेल्छन । जहाँसम्म रोनाल्डोको कुरा छ, मैले उनलाई धेरै वर्षदेखि चिनेको छु, उनले डेब्यु गर्दा टोलीमा अरु उत्कृष्ट खेलाडी थिए । अहिले धेरै अनुभव बटुलीसकेका उनले यो दबाबलाई राम्रोसँग बुझेका छन् । तर हामीले रोनाल्डोलाई मात्र होइन अन्य खेलाडीहरूलाई पनि ध्यानमा राखेका छौं।’

रोनाल्डो र याओ फेलिक्सले घानाविरुद्ध  आक्रमण सम्हालेका थिए ।  यद्यपि सान्तोससँग मिलानका स्टार राफेल लिओ पनि छन्, जसले वैकल्पिक खेलाडीमा आएपछि पहिलो टचमै  गोल गरेका थिए।