प्रिभ्यु

पहिलो जितको खोजीमा घाना र दक्षिण कोरिया

दोहा । घाना र दक्षिण कोरिया आज कतार विश्वकप २०२२ अन्तर्गत समूह एच को खेलमा आमने सामने हुँदैछन ।

एजुकेश सिटी रंगशालामा हुने खेलमा घाना पहिलो खेलमा पोर्चुगलविरुद्ध गरेको  प्रदर्शन कायम राख्दै अन्तिम १६ प्रवेशको ढोका खुला राख्न चाहन्छ । यद्धपी सो खेलमा घाना ३-२ ले निराश भएको थियो । 

यता दक्षिण कोरियाले भने दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो । सो खेलमा उल्लेख्य प्रदर्शन गर्न नसकेको दक्षिण कोरिया घानाविरुद्ध भने सुधारिएको प्रदर्शनसहित समूह चरण पार गर्ने सम्भावना कायम राख्न चाहन्छ । 

समूह एच मा तीन अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ । उरुग्वे र दक्षिण कोरियाको समान एक अंक छ भने घाना अंकविहिन छ । 

समूहको अन्तिम खेलमा दक्षिण कोरियाले बलियो मानिएको पोर्चुगलको सामना गर्नेछ । त्यसैले घानाविरुद्धको हार वा बराबरीले दक्षिण कोरियाको नकआउट चरण प्रवेशको लक्ष्यमा धक्का लाग्नेछ ।

सन् २०१८ को विश्वकपमा पनि दक्षिण कोरियाको यात्रा समूह चरणमा सीमित भएको थियो । दक्षिण कोरियाले विश्वकपको पछिल्लो तीन खेलमा गोल खाता खोल्न सकेको छैन ।

दक्षिण कोरिया घानाविरुद्ध विश्वकपमा आफ्नो गोल खडेरी तोड्न चाहन्छ ।