जर्मनी

जर्मनी र स्पेनको बराबरी

दोहा । निकाल्स फुलरगले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेको खेलमा जर्मनीले स्पेनसँग अंक बाँड्दै कतार विश्वकप २०२२ को समूह चरण पार गर्ने सम्भावना कायम राखेको छ ।

अल बायत रंगशालामा जर्मनीले स्पेनसँग १-१ को बराबरी खेल्यो ।समूह इ को पहिलो खेलमा जापानसँग २-१ ले स्तब्ध भएको जर्मनीका लागि विश्वकपको समूह चरण पार गर्ने लक्ष्य कायम राख्न स्पेनविरुद्ध जित अथवा कम्तीमा एक अंक आवश्यक थियो । स्पेनसँगको हारले जर्मनीको अघिल्लो चरणको प्रवेश सम्भावना न्युन बन्ने थियो ।

समूह इ मा शीर्ष स्थानको स्पेनको चार अंक छ भने दोस्रो स्थानको जापान र तेस्रो स्थानको कोस्टारिकाको समान तीन अंक छ । चौथो स्थानको जर्मनीको एक अंक छ । यस समूहबाट अन्तिम १६ प्रवेश गर्ने चारवटै टोलीको सम्भावना जीवितै छ ।

सन् २०१८ को विश्वकपको समूह चरणबाट बाहिरिएको जर्मनी यस पटक त्यो खराब इतिहास नदोहोरियोस भन्ने चाहन्छ ।

समूह चरणको अन्तिम खेलमा जर्मनीले कोस्टारिकाको सामना गर्नेछ भने स्पेनले जापानविरुद्ध खेल्नेछ ।

जर्मनीलाई अन्तिम १६ को टिकट पक्का गर्न कोस्टारिकामाथि जितको विकल्प छैन । 

६२औं मिनेटमा अल्भारो मोराटाले गरेको गोलमा स्पेनले अग्रता लिएको थियो । खेल सकिन आठ मिनेट बाँकी रहँदा फुलरगले जर्मनीलाई खेलमा फर्काएका थिए ।