फ्रान्स

पेलेको कीर्तिमानसँग एमबाप्पेको बराबरी

काठमाडौं । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले फ्रान्सका पछिल्लो १२ खेलमा १४ गोल गरेका छन् । 

२३ वर्षीय एमबाप्पे विश्वकपमा ऐतिहासिक उपलब्धी नजिक छन् ।  मध्यपूर्वी एसियाली मुलुक कतारमा जारी विश्वकपमा एमबाप्पेले दुई खेलमा तीन गोल गरेका छन् । शनिबार डेनमार्कविरुद्ध २–१ को जितमा एमबाप्पेले दुई गोल गरेका थिए । जसको गोलमा फ्रान्स एक खेल अघि नै अन्तिम १६ मा  स्थान बनाएको थियो ।

युवा खेलाडी एमबाप्पेले विश्वकपमा सात गोल गरिसकेका छन् । एमबाप्पले चार विश्वकप खेलेका थिएरी अनरीलाई पछि पारेका हुन् । पोर्चुगलका ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका ३५ वर्षीय लियोनल मेसीले विश्वकपमा समान आठ गोल गरेका छन् । एमबाप्पे दुवै खेलाडीलाई पछि पार्ने दौडमा छन् ।

ब्राजिलका सर्वकालिन गोलकर्ता पेलेले २४ वर्ष उमेरमै विश्वकपमा सात गोल गरेका थिए । जुन कीर्तिमानसँग एमबाप्पेले बराबरी गरेका छन् । कतार विश्वकपको अन्तिम समयसम्म एम्बाप्पले यो उपलब्धीलाई पछि पार्न सक्ने अनुमान गरिएको छ ।  

सन् २०१८ मा एमबाप्पे विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । समूहको अन्तिम खेलमा फ्रान्सले बुधबार ट्युनिसियाको सामना गर्नेछ ।