नेइमार

यो मेरा लागि जीवनकै कठिन क्षणः नेइमार

दोहा । ब्राजिलका स्ट्राइकर नेइमारले चोटका कारण कतार विश्वकपअन्तर्गत समूह चरणको बाँकी दुवै खेल गुमाउने  सम्भावना बढेसँगै त्यसलाई आफ्नो खेलजीवनकै सबै भन्दा कठिन क्षण भएको बताएका छन् ।

कुर्कुच्चाको चोटका कारण नेइमारले समूह जी अन्तर्गत सोमबार स्विट्जरल्यान्डविरुद्ध सोमबार हुने खेल गुमाउने निश्चित भैसकेको छ । त्यस्तै नेइमार क्यामरुनविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा पनि मैदान उत्रने सम्भावना न्युन छ । 
बिहीबार सर्बियाविरुद्ध २–० को जित निकालेको खेलमा निकोला मिलिन्कोभिचसँग जुध्दा नेइमारको कुर्कुच्चामा चोट लागेको थियो ।

नेइमार २० वर्ष पछि ब्राजिललाई विश्वकपको उपाधि जिताउन चाहन्छन । उनले यसअघि नै कतार विश्वकप आफ्ना लागि अन्तिम सहभागिता हुने संकेत गरिसकेका छन् । यद्धपी नेइमार आफू छिट्टै मैदान फर्कनेमा भने विश्वस्त छन ।

ब्राजिलको जर्सीमा मैदान उत्रदाको क्षण मेरा लागि सधै विशेष हुने गर्दछ,,नेइमारले भने, मेरो सपना विश्वकपको उपाधि जित्ने रहेको छ । तर कुर्कुच्चाको चोट मेरा लागि फेरी पनि त्यो लक्ष्य प्राप्ती गर्नमा बाधक हुने सम्भावना रहेको छ । त्यसैले मेरा लागि यो कठिन क्षण हो । म छिटो भन्दा छिटो मैदान फर्कन आतुर छु ।

सन् २०१४ मा ब्राजिलमै सम्पन्न विश्वकपमा कोलम्बियाविरुद्धको क्वार्टरफाइनलमा नेइमार चोटका कारण बाहिरिएका थिए । उनले जर्मनीविरुद्धको सेमिफाइनल गुमाएका थिए ।