यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

लुम्बिनीको पहिलो जित

काठमाडौं । साविक विजेता लुम्बिनी प्रदेशले वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेकोे छ । 

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ६ विकेट हरायो ।

कर्णालीले प्रस्तुत गरेको एक सय एक रनको विजयी लक्ष्य लुम्बिनीले २०.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका आकाश त्रिपाठी ४७ बलमा ८ चौकासहित सर्वाधिक ५२ रनमा अविजित रहे । 
त्यस्तै विशाल विक्रम केसीले १३ र प्रज्वल थापा १० रन जोडे । 

कर्णालीका अनुज चुनाराले दुई तथा सन्दीप शाही र मोहन बिकले समान एक विकेट लिए ।

त्यसअघि  टस जितेर  ब्याटिङ रोजेको कर्णालीले २२.२ ओभरमा  सबै विकेट गुमाउँदै १ सय रनको समान्य योगफल खडा गरेको थियो ।

कर्णालीका कप्तान विपिन रावलले ३९ बलमा पाँच चौका र एक छक्कामद्दतमा सर्वाधिक ३६ रन बनाए । सुवास ऐरले  २३ रन बनाउँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लुम्बिनीका विशाल विक्रम केसीले चार ,अभिषेक गौतमले दुई तथा नर सार्की, निर्मल गुरुङ र तुल बहादुर थापाले समान एक विकेट लिए ।