यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

बागमतीको लगातार तेस्रो जित

काठमाडौं । बागमती प्रदेशले वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेकोे छ ।

शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले मधेस प्रदेशलाई एक सय ५२ रनले  हरायो ।

बागमतीले  प्रस्तुत गरेको दुई सय १८ रनको  लक्ष्य पछ्याएको मधेसले २५.५ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो । मधेसका लागि कप्तान अभिषेक तिवारीले १८ र यमन यादवले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका अहमद राजाले पाँच, अभिषेक कोइरालाले तीन तथा सक्रिय कार्की र प्रतिक श्रेष्ठले समान एक विकेट लिए ।

त्यसअघि  टस जितेर  ब्याटिङ रोजेको बागमतीले ४७.३ ओभरमा  सबै विकेट गुमाउँदै दुई सय  १७ रनको योगफल खडा गरेको थियो ।

बागमतीका उत्तम मगरले ९८ बलमा १२ चौका र एक छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । योगेश भाटले ४० बलमा समान चार चौका र छक्कासहित ५९ रन बनाए । त्यस्तै, प्रतिक श्रेष्ठले ३० र रोशन बिकले १४ रन जोडे ।

मधेसका लागि राजेश यादवले चार, अविजित मन्डलले तीन,रञ्जित कुमारले दुई तथा अभिषेक  तिवारीले एक विके लिए ।