सहिद स्मारक ‘सी’ डिभिजन लिग

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं । स्पोर्टस एकेडेमी साँगालाई २-० ले पराजित गर्दै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार आरसी ३२ लाई जित दिलाउन सुजन बलम्पाकीमगर र सञ्जय सुब्बाले गोल गरे ।

जितसँगै आरसी ३२ ले सात खेलमा १६ अंक जोडेको छ । पराजित साँगा समान खेलबाट ९ अंकका साथ छैटौं स्थानमा छ ।

खेलको १०औं मिनेटमा सुजनको गोलमार्फत आरसी ३२ ले अग्रता लिएको थियो । उनले विवस बिसीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

६५औं मिनेटमा सञ्जयले गोल गर्दै आरसी ३२ लाई २-० को जित दिलाए । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।