इतिहासमा विश्वकप

इङ्ल्यान्डलाई पहिलो उपाधि, उत्तर कोरियाको सनसनी

१९६६ इङ्ल्यान्ड, (आठौं विश्वकप)
जुलाई ११ देखि ३० सम्म
सहभागी टोली- १६
खेल संख्या- ३२
गोल संख्या- ८९ (प्रतिखेल २.८ को औसतमा)
दर्शक- १६ लाख ३५ हजार (प्रतिखेल ५१ हजार ९३ को औसतमा)
विजेता- इङ्ल्यान्ड
उपविजेता- पश्चिम जर्मनी
तेस्रो- पोर्चुगल
चौथो- सोभियत युनियन
गोल्डेन जुत्ता- इसेबियो (इउसेबायो डा सिल्भा फेरेइरा) (पोर्चुगल)

फुटबलको जन्मदाताका रूपमा परिचित इङ्ल्यान्डले पहिलो पटक घरेलु मैदानमा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्यो । १९६६ मा घरमा सम्पन्न विश्वकपको उपाधि जित्दा इङ्ल्यान्डले सर्वाधिक रोमाञ्चक र विवादास्पद फाइनलमा पश्चिम जर्मनीलाई पराजित गरेको थियो ।

वेम्बलीको मैदानमा ४-२ को विजय पाएको खेलमा जियोफ हर्स्ट नायक बने । अतिरिक्त समयमा दुई गोल गरेका उनले खेलमा ह्याट्रिक गरे, भलै उनको दोस्रो गोल विवादास्पद किन नहोस् ।

उनको प्रहार क्रसबारमा लागेर भूइँमा ठोक्किँदै फर्किएको थियो । सहायक रेफ्री तोफिक बाखरामोभले त्यसलाई गोल दिए पनि बल गोललाइनभित्र ठोक्कियो कि बाहिर भन्ने विवाद अहिलेसम्म कायम छ ।

यो प्रतियोगिताको एकमात्र विवाद थिएन । दक्षिण अमेरिकी प्रतिस्पर्धीहरू चरम आलोचनाका साथ प्रतियोगिताबाट चाँडै घर फर्किनु, उत्तर कोरियाले इटालीलाई पराजित गर्नु तथा पोर्चुगलका इसेबियोको गोल गर्ने उच्च क्षमता विश्वकपको उक्त संस्करणका स्मरणीय विषयहरू बने । प्रतियोगितामा ९ गोल गरेका इसेबियोले गोल्डेन बूटको उपाधि जितेका थिए ।

इङ्ल्यान्डका लागि भने १९६६ को प्रतियोगिताले पहिलो पटक विश्व फुटबलको सबभन्दा ठूलो उपाधि जित्ने अवसर प्रदान गर्यो । फुटबलको जन्मदाता भएर पनि इङ्ल्यान्डले त्यसयता अहिलेसम्म विश्वकप लगायत अन्य कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छैन ।

विश्वकपको कुम्भमेलामा ढिलो गरी आइपुगेको इङ्ल्यान्डले १९५० को पहिलो सहभागितामै अमेरिकासँग लज्जाजनक पराजय भोग्नुपरेको थियो ।

१९५० को टोलीका रक्षक एएलएफ रामसी इङ्ल्यान्डको फुटबललाई आधुनिक युगसँगै अगाडि बढाउने लक्ष्यका साथ १९६३ मा टोलीको प्रशिक्षक बने । जसका कारण त्यसपछि समितिले टिम छनोट गर्ने परम्परा हटयो । प्रशिक्षक नै टिम छनोटका मुख्य जिम्मेवार हुन थाले ।

कडा मेहनती खेलाडीलाई प्राथमिकता दिने उनले पहिलो पटक ४-२-४ को परम्परागत शैली तोडेर इङ्ल्यान्डलाई ४-४-२ को शैलीमा उतारेका थिए । विश्वकपमा टोलीले हासिल गरेको सफलताको जस पनि रामसीको यही शैलीले पायो ।

इङ्ल्यान्डले बबी मुरबाट रक्षापंक्तिमा तथा बबी चाल्र्टनबाट आक्रामक मिडफिल्डमा बढी आशा राखेको थियो । तर उद्घाटन खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेल्दा भने उनीहरूले आफ्नो प्रभाव जमाउन सकेनन् ।

पहिलो चरणको खेलमा नोबी स्टिलसले फ्रान्सका ज्याक्स सिमोनमाथि गरेको खतरनाक फाउलको कारण फुटबल संघ (एफए) का पदाधिकारीले रामसीसँग स्टिल्सलाई नखेलाउन अनुरोधसमेत गर्नुपरेको थियो । जबकि रामसीले एफए पदाधिकारीको उक्त अनुरोध अस्वीकार गरे । इङ्ल्यान्डमा यो विषय सर्वाधिक चर्चाको विषय बनेको थियो ।

लिभरपुलमा बुल्गेरियामाथि २-० को विजय हासिल गर्दै ब्राजिलले उपाधि रक्षाको अभियान सुरु गर्यो । पेले र गारिन्चाले ब्राजिलको जितमा गोल गर्दै लगातार तीन विश्वकपमा गोल गर्ने खेलाडीका रूपमा नाम लेखाए ।

पेले त्यतिखेर सबै विपक्षीको मुख्य तारो बन्ने गर्थे । बुल्गेरियाली खेलाडीको खराब ट्याकलका कारण पेलेले हंगेरीसँग ३-१ को पराजय बेहोरेको खेल खेल्न सकेनन् । ब्राजिलले १९५४ पछि विश्वकपमा भोगेको यही पहिलो पराजय थियो । समूह चरणकै तेस्रो खेलमा पोर्चुगलको सामना गर्न पेले मैदानमा फर्किए ।

पेलेको चुनौतीलाई मोराइस र ओटो ग्लोरियाले असफल तुल्याउँदा इसेबियोको दुई गोलबाट प्रेरित पोर्चुगलले खेल ३-१ ले आफ्नो पक्षमा पार्यो । तत्कालिन युरोपेली वर्ष खेलाडी घोषित इसेबियोको भर्खर सुरुआत भए पनि प्रतियोगितामा पोर्चुगलको यो लगातार तेस्रो जित थियो ।

लगातार जितको बाटोमा रहेको पोर्चुगलले ब्राजिललाई पराजित गरेर सनसनी मच्चायो । पोर्चुगलपछि प्रतियोगितालाई रोमाञ्चित पार्नेमा उत्तर कोरियाको नाम आयो । उत्तर कोरियाले आश्चर्यजनक टिमका रूपमा विश्वकपमा उपस्थिति जनाएको थियो ।

एसिया र अफ्रिकाका अरु देशले आफ्नो महादेशबाट एक/एक टिम मात्र छनोट हुने प्रावधानको विरोधमा बहिस्कार गरेपछि अस्ट्रेलियालाई पराजित गर्दै उत्तर कोरियाले विश्वकप यात्रा तय गरेको थियो ।

प्रतिभावान खेलाडीको समूहले तेज गतिलाई मुख्य हतियार बनाउँदा समूह चरणको अन्तिम खेलमा इटालीलाई पराजित गरेर क्वार्टरफाइनल यात्रा तय गर्यो ।  इटालीको यात्रामा भने त्यही पूर्णविराम लाग्यो । इटालीलाई घर फर्काउनका लागि आर्येसम पार्कमा उत्तर कोरियाली टिमका पाक डू इकले गोल गरेका थिए ।

गुडिसन पार्कमा सम्पन्न क्वार्टरफाइनलमा उत्तर कोरियाले अर्को सनसनीपूर्ण प्रदर्शन गर्यो । खेल सुरु भएको २५ मिनेट नबित्दै पोर्चुगलविरुद्ध ३-० को अग्रता लिएर एसियाली टोलीले सेमिफाइनलको बलियो दाबेदारमा आफूलाई उभ्यायो ।

तर इसेबियोप्रेरित पोर्चुचलले खेलमा उत्कृष्ट पुनरागमन जनाउँदा उत्तर कोरिया ५-३ को नतिजामा निराश बन्यो । इसेबियोले एकल प्रदर्शनमा पोर्चुगललाई सेमिफाइनलको बाटोमा डोर्याउँदा एक घन्टाको बीचमा एक्लै चार गोल गरे ।  

सेमिफाइनलमा बबी चाल्टर्नको दुई गोलबाट प्रेरित आयोजक इङ्ल्यान्डसँग पराजित हुँदा पोर्चुगलले तेस्रो स्थानमै चित्त बुझाउनुपर्यो । स्टिलसका ट्याकलबाट बच्न सफल इसेबियोले अन्तमा पेनाल्टीमा एउटा गोल गरे पनि पोर्चुगललाई जिताउन त्यो सफल रहेन ।

इङ्ल्यान्डले यसअघि चरम तनाबबीच सम्पन्न क्वार्टरफाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो । हर्स्टले जिमी ग्रिएभ्सको स्थानमा खेल्न पाउनुको अर्थ प्रमाणित गर्दै टोलीको जितमा एकमात्र गोल गरे ।

खेलमा अर्जेन्टिनी कप्तान एन्टोनियो राटिनले रातो कार्ड सामना गरे । सेमिफाइनलमा पोर्चुगलको चुनौती पार गरेपछि इङ्ल्यान्ड र उपाधिको बीचमा पश्चिम जर्मनी मात्र बाँकी रहे ।

उता हेल्मुट स्चोइनको टोलीमा भने फाइनलसम्म पुग्दा चार गोल गरिसकेका २० वर्षीय फ्रान्ज बेकेनबाउरको साथ थियो । स्विट्जरल्यान्डलाई ५-० ले पराजित गरेको खेलमा राष्ट्रिय टोलीका लागि ‘डेब्यु’ जनाइरहेका बेकेनबाउरले दुई गोल गरे ।

स्पेनविरुद्ध उई सिलरले अन्तिम समयमा विजयी गोल गरेपछि पश्चिम जर्मनी समूहको विजेता बनेर अगाडि बढ्यो । टोलीले रातो कार्डका कारण ९ जनामा सीमित प्रतिद्वन्द्वी उरुग्वे र सोभियत युनियन दुवैलाई पराजित गर्यो । सेमिफाइनलमा २-१ को विजय पाउँदा हेल्मुट हालर र बेकेनबाउरले सोभियत युनियनका गोलकिपर लेभ यासिनलाई छक्याए ।

सेमिफाइनलसम्म पश्चिम जर्मनीको पक्षमा रहे पनि १९६६ जुलाई ३० को दिन इङ्ल्यान्डको पक्षमा रह्यो । वेम्बलीको मैदानमा हर्स्ट र मार्टिन पिटरको गोलमा अग्रता लिएर विजयनजिक पुगेको घरेलु टिमका समर्थकलाई एक मिनेट बाँकी रहँदा बराबरी गोल गरेर उल्फग्याङ वेबेरले चुप लगाए ।

रामसीको टोलीले अतिरिक्त समयमा पुनरागमन जनाउँदा सबैभन्दा कान्छा खेलाडी मिडफिल्डर एलान बलले गोल गरे भने हर्स्टले दुई गोल थपेर अन्तिम सिठी बज्दा इङ्ल्यान्डको पोल्टामा विश्वकपको पहिलो उपाधि दिलाउन सफल भए ।