न्युजिल्यान्ड

भारतविरुद्धको शृंखलामा बोल्टलाई विश्राम

वेलिङटन । न्युजिल्यान्डले तीब्र गतिका बलर ट्रेन्ट बोल्टलाई बाहिर राख्दै भारतविरुद्धको एक दिवसीय र ट्वान्टी २० शृंखलाकालागि टोलीको घोषणा गरेको छ ।

बोल्टले परिवारलाई समय दिनु पर्ने र फ्रेन्चाइज क्रिकेटमा व्यस्त हुनु पर्ने भएकाले न्युजिल्यान्ड क्रिकेट बोर्डसँगको वार्षिक सम्झौता अन्त्य गरेका थिए । 

यद्धपी हालै अस्ट्रेलियामा सम्पन्न ट्वान्टी२० विश्वकप क्रिकेटका लागि भने न्युजिल्यान्डले बोल्टलाई टोलीमा राखेको थियो । न्युजिल्यान्ड सेमिफाइनलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

न्युजिल्यान्डले शुक्रबारबाट भारतविरुद्ध तीन ट्वान्टी२० र तीन एक दिवसीय शृंखला खेल्दैछ । 

‘अगस्टमा व्यत्तिगत कारण देखाउँदै बोल्टले बोर्डसँगको सम्झौता अन्त्य गरेका थिए’, न्युजिल्यान्ड क्रिकेट बोर्डले, ‘तर पनि टोलीको आवश्यकता हेरेर हामीले ट्वान्टी२० विश्वकपमा भने उनलाई टोलीमा राखेका थियौ । भारतविरुद्धको शृंखलामा उनलाई पुनः विश्राम दिइएको छ । हामी नयाँ खेलाडीलाई धेरै भन्दा धेरै अवसर दिन चाहन्छौ ।’

त्यस्तै बोर्डले ओपनर मार्टिन गुप्टिलको स्थानमा फिन एलनलाई अवसर दिएको छ ।