कतार विश्वकप २०२२

इतिहासमा विश्वकप: घरेलु मैदानमा इटालीको रवाफ

१९३४, इटाली (दोस्रो विश्वकप) 
मे २७ देखि जुन १० सम्म
सहभागी टोली– १६
खेल संख्या– १७
गोल संख्या– ७० गोल, प्रतिखेल ४.१ गोलऔसत
दर्शक– ३ लाख ५८ हजार (प्रतिखेल २१ हजार ५८)
विजेता– इटाली
उपविजेता– चेकस्लोभाकिया
तेस्रो स्थान– जर्मनी
चौथो स्थान– अस्ट्रिया
गोल्डेन जुत्ता– ओल्ड्रिच नेजेदली (चेकोस्लोभाकिया)

आयोजक इटाली फिफा विश्वकप जित्ने पहिलो युरोपेली राष्ट्र बन्यो । यस पटकको प्रतियोगिता चार वर्षअघिको भन्दा ठूलो थियो । चार वर्षअघि एक सहरको तुलनामा यस पटक आठ सहरमा खेल आयोजना भए । प्रतियोगितामा सहभागीमध्ये १२ राष्ट्रमा रेडियोबाट प्रत्यक्ष प्रसारण गरियो ।

उरुग्वेले पहिलो संस्करणमा जस्तै इटालीले पनि आयोजक भएर प्रतियोगिता जितेको थियो । फाइनल खेलमा एक गोलले पछाडि परे पनि राइमोन्डो ओर्सी र एन्जेलो सिएभिओको गोलमा भिटोरिओ पोजोको इटालीले रोममा चेकोस्लोभाकियालाई २-१ ले पराजित गर्यो । 

पहिलो विश्वकपको सफलतापछि दोस्रो संस्करणमा ३२ टोलीले छनोट चरणमा सहभागिता जनाई अन्तिम चरणमा १६ टोलीले प्रतिस्पर्धा गरे । आयोजक भए पनि इटालीले छनोट चरण पार गरेर अन्तिम चरणमा छनोट हुनेक्रममा ग्रिसलाई पराजित गरेको थियो । 

मेक्सिकोको कथा छुट्टै रह्यो । अन्तिम चरणको प्रतिस्पर्धाका लागि इटाली पुगे पनि टोलीले विश्वकपको एउटै खेल खेल्न पाएन । मेक्सिकोले क्युबालाई पराजित गरी इटालीका लागि छनोट भयो । तर अमेरिकाले अन्तिम समयमा विश्वकप खेल्न पाउँ भनेर निवेदन दिएको थियो । त्यसपछि अमेरिका र मेक्सिकोबीच भएको प्लेअफ खेलमा अभागी मेक्सिको रोममा ४-२ ले पराजित भयो । 

उरुग्वे अनुपस्थित

प्रतियोगितामा सहभागी नहुने प्रमुख राष्ट्रमा उरुग्वे रह्यो । इटाली १९३० को विश्वकप खेल्न मोन्टेभिडियो नगएकाले उरुग्वेले पनि रोमको यात्रामा ननिस्किएर उपाधि रक्षा नगर्ने निर्णय गरेको थियो । दक्षिण अमेरिकी टोलीहरूले लामो यात्रा गरेर पनि तुरुन्तै घर फर्किए । कमजोर टोली उतारेको अर्जेन्टिना र ब्राजिल पहिलो चरणमै क्रमसः स्वीडेन र स्पेनसँग पराजित भए ।

१९३० मा उपविजेता बन्दाका कुनै खेलाडी अर्जेन्टिनी टोलीमा थिएनन् । थुप्रै महत्पपूर्ण खेलाडी इटालीका लागि गुमाउनुपर्दा अर्जेन्टिना निराश थियो । मोन्टेभिडियोमा फाइनल खेलेका लुइसिटो मोन्टी इटाली लागेका अर्जेन्टिनी खेलाडी थिए । उनीसहित दक्षिण अमेरिकाका इटालियन मूलका खेलाडी एटिलिओ डेमारिआ इन्रिको गुएइटा र ओर्सी विजेता इटालीको टोलीमा समेटिएका थिए । 

कडा स्वभावका पोजोको प्रशिक्षणमा राम्रो तयारी गरेको इटालीले ओर्सीको दुई तथा सिएसिओको ह्याट्रिकमा रोममा अमेरिकालाई ७-१ ले पराजित गरेको थियो । त्यो प्रतियोगिताको सबैभन्दा ठूलो विजय थियो । त्यो नै सबैको नजरमा परेको पहिलो खेल थिएन । 

विश्वकप खेल्ने अफ्रिकी मुलुकको पहिलो राष्ट्र इजिप्टले हंगेरीसँग पहिलो दुई गोल खाए पनि कडा प्रतिस्पर्धा गर्यो र पछि ४-२ ले पराजित भएको थियो । फ्रान्सले भने अप्रत्यासित रूपमा अस्ट्रियासँग राम्रो खेल्यो । यद्यपि फ्रान्स अतिरिक्त समयमा ३-२ ले पराजित भयो । 

अस्ट्रियाको प्रभाव

अस्ट्रियालाई इटालीसँगै प्रतियोगिताको दाबेदार मानिएको थियो । प्रशिक्षक हुगो मेइसलले मध्य युरोपमा देखिएको छोटो पासलाई अझ सटिक रूपमा प्रस्तुत गरेका थिए । ‘पेपर म्यान’ भनिने म्याथिएज सिन्डेलारले स्ट्राइकर भए पनि ‘प्लमेकिङ’ को प्रदर्शन गरेका थिए । 

स्ट्रियाले चार महिनाअघि फ्लोरेन्समा इटालीलाई ४-२ ले पराजित गरेर आफ्नो प्रभाव देखाएको थियो । क्वार्टरफाइनलको तनावपूर्ण खेलमा अस्ट्रियाले छिमेकी हंगेरीलाई पराजित गरेको थियो, जसलाई ‘सडकको झगडा’ खेलका रूपमा पनि चिनिन्छ । 

सिन्डेलारलाई मोन्टीले कडा निगरानीमा राखेपछि इटालीसँगको सेमिफाइनलमा अस्ट्रियाले छरितो पास खेल्न सकेन । भिजेको मैदानमा गुएइटाले पहिलो हाफमा घरेलु टोलीका लागि गोल गरेका थिए । यो घरेलु टोलीले चार दिनमा खेलेको तेस्रो खेल थियो, जसमा स्पेनसँग खेलेको कठिन क्वार्टरफाइनल खेल पनि थियो । 

मे ३१ मा भएको खेलमा इटालीले स्पेनसँग १-१ को बराबरी खेलेको थियो । २४ घन्टापछि यी दुई टोली पुनः भिडेका थिए । पुनः खेल्दा इटालीको टोलीमा धेरै परिवर्तन भयो । इटालीका गोलरक्षक जामोरा अनुपस्थित रहे र यसपटक टोलीसँग राम्रा स्ट्राइकर गुइसेपे मेएजा थिए । उनकै नाममा मिलानको रंगशालाको नाम ‘सान सिरो’ राखिएको थियो । राष्ट्रिय भावनाले उत्पे्ररित इटालीविरुद्ध स्पेनले गोल गरेको थियो, जसलाई अमान्य गरिएको थियो । 

घरेलु समर्थन

पूरै प्रतियोगिता हेरेका साढे तीन लाखभन्दा बढी दर्शकमा घरेलु टोलीले खेलेका पाँच खेलमा आधाभन्दा बढी थियो । इटालीले खेलेको खेलमा प्रतिखेल ३७ हजार ६ सय दर्शक उपस्थित थिए । इटालीका फासीवादी नेता बेनिटो मुसोलिनीले आफ्नो शक्ति देखाउन विश्वकपभन्दा ठूलो कोपा डेल डुस ट्रफी बनाएका थिए । 

फाइनलमा इटालीको प्रतिद्वन्द्वी थियो, चेकोस्लोभाकिया । चेकोस्लोभाकियाले पनि अस्ट्रियाले जस्तै छोटो पास खेलेको थियो । गोलरक्षक फ्रान्टिसेक प्लानिका र फर्वाड ओल्ड्रिच नेजेदलीले शानदार प्रदर्शन गरे । प्रतियोगितामा गरेका पाँच गोलले नेजेदलीलाई गोल्डेन जुत्ता दिलाएको थियो । 

रोमानियासँगको पहिलो चरणको खेलमा साँघुरो विजय पाएको चेकोस्लोभाकियाले एक गोलले पछाडि पर्नुका बावजुद स्विट्जरल्यान्डलाई ३-२ ले पराजित गर्यो, जसमा नेजेदलीलले विजयी गोल गरे । उनकै ह्याट्रिकमा चेकोस्लोभाकियाले जर्मनीलाई ३-१ ले पराजित ग¥यो । अस्ट्रियालाई पराजित गर्दै जर्मनीले तेस्रो स्थानमा चित्त बुझायो । 

नेजेदलीले फाइनलमा भने गोल गर्न सकेनन् । तर विङ्गर पुकले गोल गर्दै पिएनएफ रंगशालामा उपस्थित ५० हजारमध्ये अधिकांश दर्शकलाई निरास पारे । खेल समाप्त हुन १४ मिनेटअगाडि सम्म चेकोस्लोभाकिया यो गोलमा अगाडि थियो । इटालीले झन्डै दोस्रो गोल पनि खाएको थियो, तर स्भोबोदाको प्रहार पोस्टमा लागेर फर्कियो । 

८१औं मिनेटमा ओर्सीको खुकुलो गोलमा इटालीले खेल बराबरीमा ल्याएको थियो । अतिरिक्त समयमा इटालियन प्रशिक्षक पोजोले आफू चतुर प्रशिक्षक रहेको प्रमाणित गरिदिए । उनले गुएइटा र सिएभिनोलाई भिन्नै भूमिकामा खेलाएर उनीहरूको प्रयासमा विजयी गोल भयो । मेजाको क्रसमा गुएइटाले पाएको बललाई सिएभिनोलाई दिए र उनले गोल गर्दै इटालीलाई विजेता बनाए ।