च्याम्पियन्स लिग

विश्वकप अघि नै लुकाकु टोलीमा फर्कनेमा इन्जाघी आशाबादी

मिलान । इन्टर मिलानका प्रशिक्षक सिमोनी इन्जाघीले च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा चोटका कारण स्ट्राइकर रोमेलु लुकाकु टोलीमा नहुने पुष्टी गरेका छन् । 

यद्धपी बेल्जियमका स्ट्राइकर लुकाकु कतार विश्वकप २०२२ सम्म टोलीमा फर्कनेमा भने इन्जाघी विश्वस्त देखिएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुँदैछ ।

इन्टर यसअघि नै बायर्न म्युनिखसँगै समूह सी बाट च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेको छ । पछिल्लो खेलमा इन्टरले भिक्टोरिया प्लिजेनलाई ४-० ले हराएको थियो । सो खेलमा लुकाकुले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । लुकाकुले यसै साता साम्पडोरियामाथि ३-० को जित निकालेको खेलमा पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । साम्पडोरियाविरुद्धको खेलमा लुकाकु ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाट बाहिरिएका थिए ।

बेल्जियमका स्ट्राइकर लुकाकुले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । इन्जाघीले लुकाकुको चोट सामान्य रहेकाले विश्वकप अघि नै उनी टोलीमा फर्कनेमा विश्वस्त रहेको बताए । बेल्जियमले नोभेम्बर २३ मा क्यानडाविरुद्धको खेलसँगै कतार विश्वकपको यात्राको थालनी गर्नेछ ।

‘लुकाकु साम्पडोरियाविरुद्धको खेलमा ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाट बाहिरिएका थिए । उनको अवस्था सामान्य छ’, इन्जाघीले भने, ‘चिकित्सकले उनलाई केही आराम गर्न सुझाएका छन् । उनी यहीँ चोटका कारण विश्वकप खेल्ने टोलीबाट बाहिरिने सम्भावना छैन । उनी विश्वकप अघि नै फिट हुनेमा हामी विश्वस्त छौ ।’