च्याम्पियन्स लिग

युरोपा लिगमा छनोट हुनेमा सिमोन्स विश्वस्त

मड्रिड । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन्सले च्याम्पियन्स लिगबाट बाहिरिए पनि टोलीको लक्ष्य युरोपा लिगमा छनोट हुँदै  उत्कृष्ट प्रदर्शनसहित उपाधि जित्नेमा केन्द्रित रहेको बताएका छन् ।

गत साता बायर लेभरकुशनसँग २-२ को बराबरीमा रोकिएसँगै एट्लेटिकोको च्याम्पियन्स लिगको यात्रा समूह चरणमा सीमित बनेको थियो । यानिक कारास्कोले पेनाल्टीको अवसर गुमाउनु एट्लेटिकोका लागि निकै महंगो साबित बनेको थियो ।

समूह बी मा रहेको एट्लेटिको पाँच अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको बायर लेभरकुशनको चार अंक रहेको छ । तेस्रो स्थानमा बस्दै युरोपा लिगको टिकट काट्न एट्लेटिकाले अन्तिम खेलमा एफसी पोर्टोमाथि जित निकाल्नु पर्नेछ । पोर्टोसँग अंक बाँडेमा भने एट्लेटिकोले बायर लेभशकुशन क्लब ब्रुजसँग हारेको वा बराबरीमा रोकिएको कामना गर्नुपर्नेछ ।

स्पेनिस ला लिगामा पनि एट्लेटिकाको प्रदर्शन यस सिजन सन्तोषजनक छैन । १२ खेलको समाप्तीमा एट्लेटिको शीर्ष स्थानको रियाल मड्रिड भन्दा नौ अंकले पछि परिसकेको छ ।

च्याम्पियन्स लिगको पछिल्लो चार खेलमा एट्लेटिको जितविहिन रहँद आएको छ ।

‘हामी पोर्टोविरुद्ध जितसहित युरोपा लिगमा स्थान बनाउन चाहन्छौ,’ सिमोन्सले भने, ‘च्यापियन्स लिगको समूह चरणबाटै बाहिरिनु हाम्रा लागि पिडादायी थियो । तर अब हामी त्यसमा कुनै परिवर्तन गर्न सक्दैनौ । हामीसँग युरोपा लिग खेल्ने अवसर बाँकी छ र हामी त्यो अवसरलाई खेर जान दिने पक्षमा छैनौ । हामी उत्कृष्ट प्रदर्शनसहित युरोपा लिगको उपाधि जित्दै च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिनुको पिडा भुलाउन चाहन्छौ ।’