कतार विश्वकप २०२२

पोग्बाले कतार विश्वकप गुमाउने

पेरिस । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने भएका छन् । 

युभेन्टसका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने उनका एजेन्ट राफेला पिमेन्टाले बताएकी हुन् । फ्रान्सले सन् २०१८ को रुस विश्वकप जित्दा नायक साबित भएका पोग्बा फ्रान्सको उपाधि रक्षाको लक्ष्यमा यस पटक पनि महत्वपूर्ण सदस्य हुने मानिएको थियो । 

केही दिन अघि मात्र फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले पूर्ण रुपमा फिट हुने र टोलीका लागि जुनसुकै समयमा उपलब्ध हुने खेलाडीलाई मात्र कतार विश्वकप २०२२ को टोलीमा समावेश गर्ने प्रतिक्रिया दिएका थिए ।

डेसच्याम्पसको प्रतिक्रियासँगै पोग्बाको विश्वकप सहभागिता दुबिधामा परेको थियो ।

यसै सिजन मात्र इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट पूर्वक्लब युभेन्टस फर्किएका पोग्बाले घुँडाको चोटका कारण एउटा खेल पनि खेलेका छैनन् । घुँडाको शल्यक्रिया गर्ने बताइए पनि उनको शल्यक्रिया भने भैसकेको छैन ।

पिमेन्टाले पोग्बा तत्काल मैदान फर्कने सम्भावना नरहेकाले उनले विश्वकप नखेल्ने पुष्टी गरेकी हुन् । साथै लिगमा समेत उनी तत्काल मैदान फर्कने सम्भावना छैन ।

‘हिजो र आज टोरिनो तथा पिट्ब्रुजमा गरिएको स्वास्थ्य प्रशिक्षणपछि पोग्बाको चोट निको भएको देखिएन, उनको शल्यक्रिया गर्ने तयारी भएको छ,' पिमेन्टाले भनिन्, ‘पोग्बा शल्यक्रियापछि मैदान फर्कन समय लाग्नेछ । त्यसैले पोग्बा कतार विश्वकप २०२२ मा फ्रान्सको उपाधि रक्षाको लक्ष्यमा सहभागी हुनेछैनन् ।’
फ्रान्सले नोभेम्बर २२ मा अस्ट्रेलियाविरुद्धको खेलसँगै विश्वकपको उपाधि रक्षाको अभियान थाल्नेछ । समूह डी मा फ्रान्स, अस्ट्रेलिया,डेनमार्क र ट्युनिसिया रहेका छन् ।