अस्ट्रेलियन ओपन

अस्ट्रेलियामा हार्न नजानेका जोकोभिच

मेलबर्न । दुई दशक हुन लागिसक्यो, टेनिस खेल तीन खेलाडीको नाममा घुमिरहेको । रोजर फेडेरर, राफेल नाडाल र नोभाक जोकोभिच । क्यालेन्डर वर्षमा चार वटा ग्रान्डस्लाम प्रतोयोगिता हुन्छन्, अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन ।

२००३ मा फेडेररले व्यक्तिगत पहिलो ग्रान्डस्लाम विम्बल्डन जितेका थिए । त्यसयता ७६ वटा ग्रान्डस्लाम भए । जसमा ६४ ग्रान्डस्लाम यी तीनमध्ये एकले जितेका छन् । नाडाल उमेरले ३६ वर्ष पुगिसकेका छन् । जोकोभिच पनि ३५ वर्षका भइसके । फेडेररले खेल जीवनबाट संन्यास लिइसके । नाडाल र जोकोभिच पनि आफ्ना अन्तिम वर्षहरुमा छन् ।

टेनिसमा यी तीनमध्ये को राम्रो हो भन्न गाह्रो छ, फुटबलमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै । टेनिस इतिहासमा अब यी दिनहरु सम्भवत फर्केर आउने छैनन् । यत्तिको एकाधिकार जमाउन अब आउने खेलाडीहरुलाई गाह्रो नै छ । असम्भव भने होइन । त्यसोत पेले र म्याराडोनाको युगपछि मेसी र रोनाल्डोको युग जन्मिन्छ भनेर पनि कसैले सोचेका थिएनन् होला । तर जे होस् यी महान खेलाडीहरुको अनुपस्थितीले अबका दिनमा टेनिसको लोकप्रियता केही हद सम्म घट्नेछ । त्यसमा कुनै दुई मत छैन ।

वर्ष २०२२ नाडाल र जोकोभिच दुवैका लागि विशेष रह्यो । नाडालले अस्ट्रेलियन र फ्रेन्च ओपन जित्दा जोकोभिचले विम्बल्डनको उपाधी हात पारेका थिए । वर्ष २०२३ को पहिलो ग्रान्डस्लाममा फेरि जोकोभिच उपाधिको नजिक पुगेका छन् । आइतबार मेलबर्न पार्कमा जोकोभिच व्यक्तिगत ३२औं ग्रान्डस्लाम फाइनल खेल्दैछन् । शुक्रबार सेमिफाइनलमा अमेरिकाका टोनी पाउललाई ३-० को सोझो सेटमा पराजित गर्दै जोकोभिचले फाइनलमा स्थान बनाएका हुन् । फाइनलमा जोकोभिचले ग्रीसका स्टेफानो सिट्सिपसको सामना गर्दैछन् ।

व्यक्तिगत रुपमा पनि जोकोभिचलाई यो वर्षको अस्ट्रेलियन ओपन एकदमै महत्वपूर्ण थियो । गत वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन गुमाएका थिए । प्रतियोगिता अगाडी कोभिडको भ्याक्सिन लगाउन अस्विकार गरेका जोकोभिचलाई अस्ट्रेलियाले नियम पालना नगरेको भन्दै प्रवेशाज्ञा नै दिएको थिएन । त्यसैलाई प्रेरणाको स्रोत बनाएर जोकोभिचले यसपाली फाइनलसम्मको यात्रा गरेका छन् ।

हुनत उनले यसका लागि धेरै मेहनत गरेका थिए । प्रतियोगिताको सुरुआती चरणहरुमा जोकोभिचलाई ह्यामस्ट्रिङको समस्याले सताइरहेको थियो । तर उनले हिम्मत हारेनन् । सायद विश्वस्तरीय खेलाडीको विशेषता नै यही हो । प्रतोयोगिताको दोस्रो हप्ता देखि जोकोभिच असाधारण रुपमा प्रस्तुत भए, जसका लागि उनी चिनिन्छन् । आज जोकोभिच सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने नाडालको कीर्तिमानभन्दा एक जितले मात्र टाढा छन् । आइतबार जित हासिल गरे जोकोभिचसँग फेडेररभन्दा दुई ग्रान्डस्लाम बढी हुनेछ ।

सबै ग्रान्डस्लाममा कम्तीमा पनि ६ पटक फाइनल खेल्ने खेलाडी हुन, जोकोभिच । अस्ट्रेलिया र अमेरिकामा ९-९ पटक ग्रान्डस्लाम फाइनल खेल्ने कीर्तिमान जोकोभिचसँग मात्र छ । आइतबार उनले अस्ट्रेलियामा १०औं फाइनल खेल्नेछन् । अस्ट्रेलियामा जोकोभिचले फाइनल हारेका छैनन् । यो आफैमा एउटा कीर्तिमान हो ।

जब जब जोकोभिच को कुरा आउँछ, केहि प्रश्नहरु सधैं आउने गर्दछ । २१ ग्रान्डस्लाम भए पनि फेडेरर र नाडालको तुलनामा जोकोभिचको फ्यान किन कम छन् ? उनी नाडाल र फेडेररविरुद्ध कोर्टमा उत्रिँदा दर्शकदिर्घाबाट जोकोभिचको नाम किन जप हुँदैन ? किन दर्शकहरुले नाडाल र फेडेररलाई बढि मन पराउँछन ? यी प्रश्नहरु किन पनि गरिएका हुन् भने टेनिस इतिहासलाई फर्केर गेर्दा जोकोभिच यसको शिकार बनेको उदाहरणहरु धेरै पाइन्छन् ।

२०१५ को विम्बल्डनमा जोकोभिचले फेडेररलाई चार सेटमा पराजित गरेका थिए । खेलमा दर्शकहरु फेडेररको नाम अथाह हर्षोल्लासका साथ लिइरहेका थिए, यद्यपि फेडेरर त्यो खेल हार्दै थिए । यस्तै अवस्था चार वर्षपछि फेरि भयो । चार घण्टा ५७ मिनेट लामो २०१९ विम्बल्डन फाइनलमा जोकोभिचले फेडेररलाई पराजित गरेका थिए । खेल हेर्न आएका दर्शक, विशिष्ट व्यक्तिहरु सबै फेडेरर जितुन भन्ने चाहन्थे तर जोकोभिचले फेडेररलाई हराएरै छाडे । उक्त खेलमा फेडेरर आफ्नो नवौं विम्बल्डन उपाधिबाट  एक शट मात्र टाढा थिए । तर उनले हानेको बल जालीमा लागेको थियो । ‘दर्शकहरु फेडेरर भनेर कराउँदा मैले नोभाक सुनेँ,’ जोकोभिचले खेलपछि भनेका थिए ।

प्रतिद्वन्द्वीहरु म्याच पोइन्टका लागि सर्भिस गरिरहेको अवस्थामा पनि जोकोभिचले आफ्नो इच्छाशक्तिका कारण खेल जित्न सफल भएका उदाहरण धेरै छन् । यहि इच्छा शक्तिका कारण हो, जोकोभिचले २१ पटक ग्रान्डस्लाम जितेको ।

अब आउँ उत्तर तिर । जोकोभिचलाई दर्शकहरुले कम मन पराउनुको कारण उनी आफै हुन् । नाडाल र फेडेररले एकअर्काप्रती गर्ने सम्मान र नम्र व्यवहारको तारिफ विश्व खेलकुदमा उदाहरणीय छ । तर जोकोभिचको सन्दर्भमा उनले कुनै समय कोर्टमा धेरै नराम्रो व्यवहार गरेको आरोप छ । जोकोभिचलाई कुनै बेला विपक्षीप्रति उचित सम्मान नदेखाउने खेलाडीका रुपमा मानिन्थ्यो । कोही अझै पनि मान्छन् । करियरको सुरुआती समयमा उनले खेलाडीहरुको नक्कल समेत गर्थे । जबकि धेरैले यो कुरा रमाइलोका रुपमा लिए, धेरै खेलाडी र प्रशंसकहरुले यसलाई मन पराएनन् ।

उमेर र परिपक्वतासँगै जोकोभिच मायालु बनिसकेका छन् । तर अझै पनि मानिसहरु उनको पुरानो पहिलो छापलाई समात्न चाहन्छन् । जब जोकोभिच जवान थिए, टेनिस फाइनलमा उनको उपस्थितिले मानिसहरुलाई नाडाल-फेडेरर फाइनल हेर्न रोक लगाउँथ्यो । त्यसकारण पनि उनलाई धेरैले मन पराएनन् ।

यति सबै हुँदा पनि जोकोभिचले आफ्नो प्रदर्शममा भने कहिल्यै आँच आउन दिएनन् । जोकोभिचले आफ्नो करियरमा नाडाललाई लगातार तीनवटा ग्रान्डस्लाम फाइनलमा हराएका छन् । त्यस्तै फेडेररलाई फाइनलमा चारपटक पराजित गरेका छन् । युवा खेलाडीहरुले जोकोभिचबाट सिक्ने कुरा धेरै छन् । जोकोभिच साच्चिकै हिम्मत नहार्नेका लागि एक रोल मोडेल हुन् ।