टाईगर कप

टाईगर कपः सरस्वती र रवि सर्वोत्कृष्ट

काठमाडौं । च्याम्पियन टोली नेपाल एपिएफ क्लबकी सदस्वती चौधारी र गण्डकी प्रदेशका रवि केसी पोखरामा सम्पन्न तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सरस्वती महिला तथा रवि पुरुषतर्फ सर्वोत्कृष्ट बनेका हुन् । दुवैले आ-आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । उनीहरुले समान २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे  ।

महिलातर्फ विधागत उत्कृष्टकमा न्यु डायमन्डकी प्रगति नाथ उत्कृष्ट सेटर, घरेलु टोली गण्डकी अरुणा शाही सर्भर, त्रिभुवन आर्मी क्लबकी संगम महतो ब्लकर, आर्मी कै सरस्वती जैसी लिवेरो र  एपिएफकी निरुता ठगुन्ना स्पाइकर घोषित भए । एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए ।

पुरुषतर्फ विधागत उत्कृष्टमा गण्डकीका विवश आलेमगर सेटर, गण्डकीकै घनश्याम चौधरी सर्भर, एपिएफका विनोद चन्द लिबेरो, एपिएफकै टेकराज अवस्थी स्पाइकर, गण्डकीका भारतीय खेलाडी नितिन ब्लकर चुनिए ।गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

पोखरा रंगशालाको प्राङ्गणमा शनिबार सम्पन्न  पुरुषतर्फको फाइनलमा घरेलु टोली गण्डकीले एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै दोस्रोपटक च्याम्पियन बन्दा महिलामा एपिएफ आर्मीलाई ३-१ को सेटमा हराएर  लगातार दोस्रोपटक च्याम्पियन भएको थियो ।