तेक्वान्दो

जुनियर मेयर कप तेक्वान्दोमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं ।  तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा काठमाडौं महानगरपालिका टिम च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न प्रतियोगितामा काठमाडौंले सर्वाधिक आठ स्वर्ण, दुई रजत र एक कास्य जित्यो ।

आयोजक जैशीदेवल युथ क्लब ‘बी’ तीन स्वर्ण, एक रजत र तीन कास्य जित्दै दोस्रो स्थानमा रह्यो ।  तेश्रो भएको भक्तपुर नगरपालिकाले दुई स्वर्ण र चार कास्य जित्यो ।

प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा आयोजक ‘बी’ का सुरेशहाङ लिम्बू तथा महिलामा काठमाडौंकी दिया रजक उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा गोदावरी नगरपालिकाका पिरव महर्जन तथा महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारै जनाले एक सय अमेरिकी डलर पुरस्कार पाए ।

काठमाडौंका सौरभ रजक उत्कृष्ट प्रशिक्षक तथा भाष्कर श्रेष्ठ उत्कृष्ट निर्णायक बने । दुवैले जनही एक सय ५० अमेरिकी डलर पुरस्कार हात पारे ।

विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा  प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा आयोजकको दुई सहित २० टोलीका तीन सय खेलाडी सहभागि थिए  ।