काठमाडौं । पात्रो फेरिँदै छ । विक्रम सम्वतको मितिले नयाँ अंक पाउँदै छ । २०८१ बाट अब लेखिनेछ, २०८२ । निरन्तर फेरिने पात्रोले ३६५ दिनको चक्र पूरा गरेर नयाँ चक्र सुरु गर्दै छ ।
नेपाली खेलकुदको अवस्था भने नयाँ वर्ष आउँदै गर्दा पनि उस्तै छ । नयाँ वर्ष आगमनको उत्साह सधैंझै यसपालि पनि नेपाली खेलकुदसँग छैन । किनकि नयाँ वर्षमा केही भइहाल्ला भन्ने आस गर्न सक्ने सकारात्मक भावना बितेको वर्षले दिँदैन । पात्रोजस्तो स्वचालित भएर अगाडि बढ्ने नियतिको जगसमेत नेपाली खेलकुदले अझैसम्म हाल्न सकेको छैन ।
विगतका प्रत्येक वर्षजस्तै सोमबार इतिहास हुने तयारीमा रहेको वर्ष २०८१ ले पनि नेपाली खेलकुदलाई खुसी हुने मौकाभन्दा बढी निराशा नै दियो । मैदानभित्र आर्जित सफलताका थोरै कथालाई बग्रेल्ती असफलताले नराम्ररी छायाँमा पारिदिए । सुशासन, पारदर्शिता, एकता, भाइचाराजस्ता खेलकुदका मूलमन्त्रहरू फगत आदर्शमा सीमित भए । व्यवहारमा नेपाली खेलकुदलाई निकै अनुदार अनि व्यक्तिगत र गुटगत स्वार्थकेन्द्रित द्वन्द्वको थलोका रूपमा नवीकरण गरियो । विधि, विधान र ऐन, कानुनको कतिसम्म बर्खिलाप जान सकिन्छ भन्नेमा नयाँ नयाँ कीर्तिमान स्थापित भए ।
यही वर्षबाट नेपाल प्रिमियर लिग (एनपिएल)को सुरुआतसँगै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई विभिन्न स्थानबाट एकसाथ सञ्चालन गर्नु अर्को सकारात्मक कदम थियो ।
नेपाली खेलकुदले बिताएको वर्ष २०८१ तिर फर्केर हेर्ने हो भने यस्तै देखिन्छ । थोरै खुसी, थोरै उर्जा, थोरै इमान्दारी, थोरै सुप्रयास अनि धेरै दुःख, धेरै षडयन्त्र, धेरै बेइमानी, धेरै दिग्दारी र धेरै भ्रम ।

हो, क्रिकेटले बितेको वर्ष समग्र देशलाई ठूलो खुसी दियो । दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउँदा नेपाली राष्ट्रिय टोलीले अमेरिका र वेस्ट इन्डिजका मैदानमा बहादुरीपूर्ण प्रदर्शन गरे । विश्वकपको मैदानमा टेस्ट खेल्ने तीन दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका तथा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भएको नेदरल्यान्ड्सजस्ता बलिया विपक्षीसँग खेल्दा नेपालले एउटै खेल जित्न सकेन । तर, नेपालले खेल नजिते पनि प्रत्येक खेलमा गरेको प्रदर्शनबाट विश्व क्रिकेटसामु प्रभावशाली सन्देश भने फेरि पनि दियो ।
वेस्ट इन्डिजको किंग्सटाउनमा सम्पन्न दक्षिण अफ्रिकासँगको खेल नेपालको क्रिकेटमात्र नभई सम्पूर्ण खेलकुदले गर्व गर्न लायक रूपमा सम्पन्न भयो । विश्व क्रिकेटकै बलियो विपक्षीविरुद्ध अन्तिम बलसम्म पुगेको प्रतिस्पर्धामा नेपाल दुर्भाग्यजनक रूपमा १ रनले पराजित हुनुपरेको थियो ।
अन्तर्राष्ट्रिय महिला फुटबलमा स्थायी उपविजेता जस्तो छवि बनाइसकेको नेपाल बितेको वर्ष वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल च्याम्पियनसिपमा फेरि फाइनल पुगेर निराश भयो ।
क्रिकेटले बितेको वर्ष दिएको अर्को खुसी थियो, यु-१९ महिला टिमले विश्वकपमा पहिलो पटक सहभागिता जनाउनु । सँगै वर्ष २०८१ मा घरेलु क्रिकेटको संरचना बनाउनुपर्ने आवश्यकतामाथि पनि राम्रै सम्बोधन भयो । यही वर्षबाट नेपाल प्रिमियर लिग (एनपिएल)को सुरुआतसँगै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई विभिन्न स्थानबाट एकसाथ सञ्चालन गर्नु अर्को सकारात्मक कदम थियो ।

विश्वकपमा सहभागितासँगै घरेलु क्रिकेटमा ठूलो महत्त्वाकांक्षासहित सुरु गरिएका प्रतियोगिताहरूले एनपिएल आयोजना दौरान नेपाल क्रिकेट संघ (क्यान)ले अपनाएको अपारदर्शी रबैया, विजेताले पुरस्कार नपाएका खबर र संघभित्रको आन्तरिक विवादलगायतका विषयलाई कम्तीमा तत्कालका लागि छोपिदिएको छ ।
क्रिकेटपछि फुटबल र भलिबलमा महिलाले पुरुषको तुलनामा समर्थकलाई केही खुसी दिने प्रयास गरे । अन्तर्राष्ट्रिय महिला फुटबलमा स्थायी उपविजेता जस्तो छवि बनाइसकेको नेपाल बितेको वर्ष साफ च्याम्पियनसिप र अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल च्याम्पियनसिपमा फेरि फाइनल पुगेर निराश भयो । घरेलु फुटबलमा भने चेलीहरूले अभूतपूर्व लोकप्रियता हासिल गरिरहेका छन् । जसले भविष्यका दिनमा नेपाली महिला फुटबल व्यावसायिक बाटोमा अग्रसर हुने आस गर्न सकिन्छ ।
राष्ट्रिय खेल भलिबलले आन्तरिक रूपमा समाएको प्रगतिपथमा निरन्तर अघि बढिरहँदा महिला टिम काभा नेसन्स लिगमा उपविजेता भयो भने काभा विच भलिबल लिगमा च्याम्पियन हुन सफल भयो । पारा तेक्वान्दोमा पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामाले पेरिस पारा ओलम्पिकदेखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा राष्ट्रिय गौरवको कथा लेख्ने क्रमलाई यस वर्ष पनि निरन्तरता दिए ।
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रका बेथिति, विसंगति, भ्रष्टाचार, आन्तरिक संघर्ष र षड्यन्त्रका कथाका शृंखला बयान गरिनसक्नु छन् ।
करातेकी एरिका गुरुङ बितेको वर्ष नेपाली खेलकुदमा आशाको सञ्चार गराउने अर्को एउटा ठूलो नाम हो । नेपाली खेलकुदले मज्जासँग अपनाइनसकेको खेल खोखोले भारतमा सम्पन्न विश्वकपमा उपविजेता भएर केही दिन तहल्का मच्चायो ।

नेपाली खेलकुदले बितेको वर्ष दिएका खुसीको सूची धेरै लामो छैन । बरु निराशा, निकम्मापन र बेथिति र विसंगतिको भने बयान गर्न एउटा लेख पर्याप्त नहुन सक्छ ।
फुटबलमा पुरुषतर्फ भने यो वर्ष खुसी हुने कुनै बहाना मिलेन । शीर्ष डिभिजनको लिग यो वर्ष पनि हुन सकेन । मोफसलको अस्तव्यस्त तालिका र व्यवस्थापनले फुटबलका सर्वमान्य स्थापित मान्यतालाई प्रत्येक दिन भत्काइरह्यो । व्यावसायिकताको ठूलो सपना देखाएर ल्याइएको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को हाउगुजी पनि गोल्डकप नाम गरिएका मोफसलका थुप्रै ‘टोलकप’ शैलीमा चल्दा टिकाउ भएन ।
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रका बेथिति, विसंगति, भ्रष्टाचार, आन्तरिक संघर्ष र षड्यन्त्रका कथाका शृंखला बयान गरिनसक्नु छन् । फुटबलमा नगरी नहुने कार्यक्रम एन्फाको प्राथमिकतामा पर्दैन, बरु त्यस्ता अपरिहार्य कामबाट पन्छिन दिनहुँ नयाँ-नयाँ फण्डा ल्याउनमा नेतृत्व मस्त देखिन्छ ।
नेपाली खेलकुदको सर्वोच्च निकाय परिषद, परिषदका सदस्यसचिव, युवा तथा खेलकुद मन्त्रालय, मन्त्री, एनओसी र एनओसीको नेतृत्व सम्झेर कुनै पनि खेलाडी वा खेलकर्मीमा उर्जा आउँदैन ।
अनि फुटबलका नाममा आफ्ना गुटगत स्वार्थपूर्तिका लागि केन्द्रीय कार्यसमितिमा टाउको गन्ने र संख्या पुर्याउने खेलले नै एन्फा नेतृत्वलाई यस वर्ष पनि व्यस्त बनाइरह्यो । यही कारण हो, बितेको वर्ष नेपाली फुटबलले कहिल्यै भुल्न नसक्ने एउटा दुर्भाग्यजनक घटना भयो । गत वर्ष असोजको बाढी पहिरोमा पुरिएर फुटबलको माध्यमबाट देशको सेवा गर्ने उद्देश्य बोकेर एन्फा एकेडेमीमा भर्ना भएका ६ बालकले अनाहकमा ज्यान गुमाउनुपर्यो । एन्फाको अदूरदर्शिता, स्वार्थकेन्द्रित निर्णय र लापरवाहीका कारण असोज महिनामा आएको एउटा कालो दिनले होनहार बालकहरूलाई चुँडेर लग्यो ।
महिला फुटबलले हासिल गरेको सफलतालाई बाँकी नेपाली फुटबलको दूरावस्थाले पूर्ण रूपमा छायाँमा पारेर वर्ष २०८१ विदा भएको छ ।

सबै संघका दुई माउ संस्था राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी (एनओसी) नै खेलकुदको नाम भजाएर खेलकुदकै दोहनमा ‘सिनो लुछ्ने गिद्धजसरी’ प्रस्तुत हुने क्रमले यो वर्ष पनि निरन्तरता पायो । यही कारण राष्ट्रिय संघहरूको हकमा बेथिति र विसंगति संस्कार जसरी थप स्थापित भएको छ ।
नेपाली खेलकुदको सर्वोच्च निकाय परिषद, परिषदका सदस्यसचिव, युवा तथा खेलकुद मन्त्रालय, मन्त्री, एनओसी र एनओसीको नेतृत्व सम्झेर कुनै पनि खेलाडी वा खेलकर्मीमा उर्जा आउँदैन । बरू खेलाडी हुनुका कारण स्वभाविक रूपमा आउने उर्जा पनि उसै शिथिल भएर जान्छ ।
वर्ष २०८१ मा दुई पटक मिति घोषणा गरेर पनि हुन नसकेको १०औं राष्ट्रिय खेलकुद प्रशासनको त्यस्तै नालायकीको एउटा प्रमाण हो । २०८२ साल जेठ ३ गतेबाट सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशमा गर्ने भनिए पनि स्वयम मन्त्री तेजुलाल चौधरीले परिषदको बोर्ड बैठकमा गौरवसाथ १०औं राष्ट्रिय खेलकुद नगर्ने घोषणा गरिसकेका छन् ।

उसोत मन्त्रीले घोषणा गर्नुअघि पनि राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोटदेखिका काममा परिषद र मन्त्रालय नेतृत्वको कुनै चासो थिएन । बरू कर्मकाण्डी पारामा खेल सकेर बजेट सक्काउने धुनमा कर्मचारीतन्त्रदेखि राजनीतिक नेतृत्वसम्म मस्त थिए । सार्वजनिक खरिद ऐनका छिद्रबाट छिरेर सरकारी बजेटको दोहनमा पूरा संयन्त्रको मुख्य ध्यान केन्द्रित थियो । गाउँ गाउँदेखिका प्रतिभाले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउने थलोको रूपमा राष्ट्रिय खेलकुदको उपयोग गर्ने, स्तरीय प्रतिस्पर्धा गराउने लगायतका यसको भावनामाथि कसैको चासो थिएन, छैन ।
एनओसी पनि उसैगरी अन्तर्राष्ट्रिय मान्यता, आइओसी, ओसिए, संघ स्वायत्तता, आइओसी चार्टर, ओलम्पिक अभियानजस्ता केही शब्दावली प्रयोग गरेर सरकारलाई धम्क्याउँदै आफ्नो दुनो सोझ्याउन सिपालु भइसकेको छ ।
सरकारी बजेटको दोहनसँगै सरकारी नेतृत्वको अर्को प्राथमिकता भनेको एनओसीविरुद्ध ‘हार्नैपर्ने लडाइँ’का लागि निहुँ खोजिरहनु हुने गरेको छ । जुन यसपालि पनि एनओसीको साधारणसभा र चुनावको बहानामा प्रस्ट देखियो ।
परिषद र मन्त्रालयले अहिले एनओसीलाई अवैधानिक मानेर सबैखाले सम्बन्धविच्छेद गरेका छन् । सरकारकै निर्देशनमा प्रहरीले एनओसी कार्यालय कब्जामा लिएको छ । सरकार भन्छ, ‘कानुनको पालना हुनुपर्छ, देशको कानुनभन्दा माथि कोही छैन । एनओसीले देशको कानुन मानेको छैन । जुन हामीलाई स्वीकार्य छैन । एनओसीको चुनावमा भाग लिने र कार्यसमितिमा पुग्ने विभिन्न संघ र तिनका पदाधिकारीले पनि कानुन मिचेका छन् । हामी कारबाही गर्छौं ।’

आफैले भनेका कुरामा सरकार इमान्दार देखिँदैन । किनकि मन्त्रालय र परिषदलाई पनि समस्या समाधान गर्नु छैन । बरू यसलाई थप बल्झाएर संघ तथा एनओसीलाई तर्साउँदै व्यक्तिगत फाइदा लिन पाउने मौका छोप्नु छ । सरकार इमान्दार भएको भए एनओसीको साधारणसभामा भाग लिने सबै संघ परिषदप्रति पूर्ण रूपमा आश्रित छन् । तिनलाई एकमुष्ठ अवैधानिक घोषणा गरेर व्यावहारिक रूपमै सम्बन्धविच्छेद गर्ने आँट परिषद र मन्त्रालयले गर्ने हो भने एनओसीविरुद्ध दन्तबजान गर्नुपर्ने वा कार्यालयमा पुलिस लगाएर ताल्चा मार्नुपर्ने अवस्था आउने नै थिएन ।
सरकार जसरी प्रशासनको धाकका भरमा एनओसी र संघहरूलाई कज्याउन पल्किएको छ । एनओसी पनि उसैगरी अन्तर्राष्ट्रिय मान्यता, आइओसी, ओसिए, संघ स्वायत्तता, आइओसी चार्टर, ओलम्पिक अभियानजस्ता केही शब्दावली प्रयोग गरेर सरकारलाई धम्क्याउँदै आफ्नो दुनो सोझ्याउन सिपालु भइसकेको छ ।
यही कारण हो, यसपालि कहीँ नभएको जात्रा एनओसीमा भयो । उसो त नेपाली खेलकुद प्रजातान्त्रिक कहिल्यै थिएन । खेलमुखी त छँदै थिएन । खासमा यो क्षेत्रले सधैं प्रजातान्त्रिक नारा र खेलकुदको नाम भजाएर अधिनायकवादकै पृष्ठपोषण गरिरह्यो । अधिनायकहरू जन्माइरह्यो । अनि चरम अलोकतान्त्रिक, अपारदर्शी र भ्रष्ट छविमा रमाइरह्यो ।
तमाम निराशाको बीचबाट सकारात्मक पक्ष खोज्दा मैदानबाहिरका राजनीतिले थिलथिलो पारेको खेलकुदलाई बितेको वर्ष पनि खेलाडीले थोरै आशा दिएका छन् ।
गएको वर्ष नेपाल ओलम्पिक कमिटी (एनओसी) को दुई वटा यस्ता साधारणसभा भए । कानुनी र अन्य व्यवस्थापकीय विवाद कायमै थिए । ओलम्पिक अभियान र खेलकुदमा रहेको अग्रगमनको सम्भावनामाथि पनि प्रहार गर्दै साधारणसभा सम्पन्न भए ।
नेपाली खेलकुदको निकै महत्त्वपूर्ण संस्था भएकाले एनओसीको चरित्र पनि अधिनायकवाद, अदारदर्शिता र भ्रष्ट नै हो । यो वर्षबाट एनओसीको त्यो अधिनायकवादी चरित्रले अर्को चरणको उचाइ हासिल गर्यो । अर्थात साधारणसभामार्फत विधिविधान सबै मिलाएर अधिनायकवादलाई औपचारिक रूपमै संस्थागत गर्ने काम सम्पन्न भयो ।
दुई कार्यकाल महासचिव र दुई कार्यकाल अध्यक्ष भएर १६ वर्ष एनओसीको डाडुपन्यू चलाइसकेका जीवनराम श्रेष्ठले आफै बनाएको विधान र खेलकुद ऐनसमेत लत्याएर तेस्रो कार्यकाल अध्यक्ष हुने औपचारिकता बितेको वर्ष पूरा गरे ।
श्रेष्ठकै अगुवाइमा बनेको एनओसीको विधानमा कुनै पनि व्यक्ति अध्यक्ष र महासचिव दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था थियो । यसैगरी सांसद हुँदा उनैले नेतृत्व गरेर बनाएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा पनि कुनै पनि खेल संघको अध्यक्ष पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था थियो ।

तर, एनओसीका २७ सदस्य संघबीच बलियो पकड भएको फाइदा उठाउँदै श्रेष्ठले आफैं बनाएको विधान र खेलकुद ऐनको भावनाविपरीत अध्यक्ष र महासचिवमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्थामा संशोधन गरेर तेस्रो कार्यकाल आफू अध्यक्ष हुने बाटो खोले । लगत्तै अर्को साधारणसभा गरेर फेरि आफू तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिँदै श्रेष्ठले पुटिन शैलीमा नेतृत्व हत्याए ।
तमाम निराशाको बीचबाट सकारात्मक पक्ष खोज्दा मैदानबाहिरका राजनीतिले थिलथिलो पारेको खेलकुदलाई बितेको वर्ष पनि खेलाडीले थोरै आशा दिएका छन् । आवश्यक लगानी गरे, खेल्ने वातावरण दिए, पूर्वाधार अभावमा थिचिनुनपरे, के खाउँ के लाउँको अवस्थाबाट माथि उचालिदिए, विकासका लागि दीर्घकालीन योजना बनाएर इमान्दारीसाथ अगाडि बढे नेपाली खेलकुद तीन करोड नेपालीलाई खुसी दिन सक्षम छ । अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरव स्थापनाको माध्यम बन्न सक्षम छ । एउटा ठूलो उद्योगका रूपमा स्थापित भएर रोजगारी सिर्जना गर्न तथा देशकै अर्थतन्त्रलाई योगदान गर्न सक्षम छ भन्ने प्रमाण खेलकुदले दिएको छ ।
आउँदै गरेको वर्ष २०८२ ले नेपाली खेलकुदका समग्र प्रशासकलाई इमान्दारी, प्रतिवद्ध, दूरदृष्टिसहितको इच्छाशक्ति प्रदान गरोस । साँच्चै नेपाली खेलकुदले बोकेका सबैखाले सम्भावना यथार्थमा परिणत गर्ने यात्राको सुरुआत यही वर्षले थालोस । शुभकामना !