काठमाडौं । श्रीलंकाविरुद्ध ५-० को एकतर्फी जित निकाल्दै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विजयी सुरुआत गरेको नेपाल तीन अंकका साथ समूह ‘बी’ को दोस्रो स्थानमा छ । याे नतिजासँगै घरेलु टोली भारतले पनि अन्तिम चारको यात्रा तय गर्यो ।
यता दुवै खेलमा पराजित श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा श्रीलंकाले घरेलु टोली भारतसँग ८-० को फराकिलो हार बेहोरेको थियो ।
आइतबार भारतको गोल्डेन जुब्ली रंगशालामा नेपाललाई जित दिलाउन सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्ष्छु थापाले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा सुजनको गोलमार्फत नेपालले अग्रता लिएको थियो । उनले कप्तान राम थापाको क्रसलाई बक्स भित्र नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे ।
धर्वेन्द्रले ६२औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । सुवासको क्रसलाई श्रीलंकाका रक्षक ओमिथ इदिरीसिंघेले क्लियर गर्न खोज्दा धवेन्द्रलाई लाग्दै गोलमा परिणत भएको थियो ।
सुवासले ७६औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । ८९औं मिनेटमा विज्ञान खड्काले गोल गर्दा नेपालको अग्रता ४-० मा पुग्यो । उनले सुजनको क्रसलाई बक्स भित्र नियन्त्रणमा लिँदै जाली चुमाए ।
खेलको इन्जुरी समयमा लक्ष्छुले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई ५-० को सानदार जित दिलाए ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार घरेलु टोली भारतको सामना गर्नेछ । यो खेलले समूह विजेताको टुंगो लगाउने छ ।