काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्धको पीडादायी हारपछि नेपाली चेलीहरु पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि घरेलु दशरथ रंगशालाको मैदानमा उत्रिदैछन् ।
नेपाली राष्ट्रिय महिला टोलीले साढे तीन महिनापछि मैदानमा उपस्थिति जनाइरहँदा सम्पूर्ण खेलप्रेमीको यसपाली जसरी भए पनि उपाधि घरमा राख्ने आशा रहनेछ । एक दर्जन फाइनलमा पराजय बेहोरेको नेपालले खेल्दैछ, ‘चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ । जहाँ नेपालका प्रतिद्धन्द्धी रहनेछन् लेबनान, किर्गिस्तान र म्यानमार । प्रतियोगिता सोमबारबाट सुरु हुनेछ ।
राउन्ड रोविन पद्धत्तिमा खेलाइने प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने भएकाले नेपालले कम्तिमा पनि दोस्रो स्थानमा रहने अपेक्षा रहनेछ ।
विभिन्न प्रतियोगितामा गरि घरेलु भूमीमा नेपालले चारपटक फाइनल खेल हारेको छ । यी सबै नतिजा अब इतिहास भइसके । यसलाई कोट्याइराख्नु जरुरी छैन । किनकी नेपाली चेलीहरु नयाँ सुरुआतको पखाईमा छन् । जुन पखाईलाई सार्थकता दिन शुभचिन्तक फेरि एकपटक राष्ट्रको झण्डा बोकेर प्यारापिट जाने प्रतिक्षामा छन् ।

के नेपाली समर्थकको आशाअनुसार यसपाली नेपालले उपाधि जित्ला त ? घरेलु समर्थनबाहेक यसपाली नेपालले उपाधि नै जित्ने आधारहरु छन् त ?
पक्कै छन् । पहिलो आधार हो, कागजमा नेपाल लेबनान र किर्गिस्तानभन्दा बलियो टिम हो ।
फिफाको विश्व वरीयतामा लेबनान र किर्गिस्तान नेपालभन्दा पछाडि छन् । जसका कारण नेपालले कुनै पनि कठिनाइविना फाइनलमा स्थान बनाउने अनुमान गर्न सकिन्छ । राउन्ड रोविन पद्धत्तिमा खेलाइने प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने भएकाले नेपालले कम्तिमा पनि दोस्रो स्थानमा रहने अपेक्षा रहनेछ । म्यानमार भने नेपालभन्दा ४८ स्थानमाथि छ । यो भनिरहँदा नेपालले साढे तीन महिना अगाडिको त्यो फाइनल खेल विर्सनु हुन्न । स्मरण रहोस्ः बंगलादेशले करिब १५ हजार नेपाली समर्थकलाई मौन पारेको थियो । जतिबेला बंगलादेश फिफा वरीयतामा नेपालभन्दा ४० स्थान पछाडि थियो ।
टर्फमा खेलेको कारण खेलाडीलाई सुरुआति केही समय गाह्रो हुन सक्छ ।
दोस्रो अनि महत्वपूर्ण आधार भनेको नेपाली खेलाडीले पछिल्लो ६ महिनायता फुटबलबाहेक अन्य कुरा सोच्न भ्याएका छैनन् । यसपालि ९० खेलको लिगलाई आधार मानेर टोली निर्माण गरिएको छ । दुई चरणमा भएको एन्फा राष्ट्रिय महिला लिगमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोली तयार पारेको बताएका छन् । लिगको पहिलो चरण सकिएपछि नेपालले साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । नेपाली महिला फुटबलमा अहिलेसम्म यति लामो लिग यसअघि कहिल्यै भएको थिएन । सँधै एक्सपोजरकै बहानामा उम्किरेको उपाधिलाई यो लिगले बल नदिए यति धेरै खेल सञ्चालन गर्नुको औचित्य पनि के त ?

लिगलाई यति धेरै महत्व दिइरहँदा नेपाली फुटबलको वास्तविक चित्र अर्कै छ । लिग भयो, राम्रो भयो । फिटनेशमा संघर्ष गरिरहने खेलाडीलाई यो लिगले केही फाइदा अवश्य पुर्याएको छ । नयाँ खेलाडी पनि जन्माएकै हो । लय गुमाएका र चोटबाट पुनरागमन गरेका खेलाडीले लिगमार्फत नै आफ्नो पूरानो लय समाते पनि ।
तर, लिग र त्यसले आसन्न प्रतियोगिताका लागि नेपाली खेलाडीको तयारीमा गरेको प्रभावमाथि थुप्रै प्रश्न पनि छन् । के लिग प्रतिस्पर्धात्मक थियो ? कसरी खेलाइएको थियो लिग ? कति दिनको अन्तरालमा ?
यो लिगमा कूल ६९ खेल भए । फाइनलअघिका सबै खेल एन्फा मुख्यालय मैदानमा सम्पन्न भएको थियो । विगतका लिगभन्दा केही फरक ढाँचाबाट खेलाइएको यो लिगमा कूल १० टोलीको सहभागिता थियो । राउन्ड रोविन पद्धत्तिमा भएको पहिलो चरणबाट शीर्ष पाँच टोलीले सुपर स्टेज नाम दिइएको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेका थिए । डबल राउन्ड रोविन पद्धत्तिमा भएको सुपर स्टेबजबाट शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाए । इलिमिनेटर र क्वालिफायर शैलीमा प्लेअफ समीकरण तयार भएको थियो । अन्त्यमा एपिएफले दशरथ रंगशालामा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ४-० को फराकिलो जित हासिल गर्यो ।
फाइनलको नतिजाले पनि थाहा हुन्छ, लिगमा एपिएफको एकतर्फी राजका बारेमा । विभाग बाहिरका टोलीले औपचारिकताका लागि मात्र सहभागिता जनाइरहँदा एपिएफले विपक्षीबाट प्रतिस्पर्धा नै पाएन । एपिएफ फेरि पनि अपराजित रहँदै च्याम्पियन बन्यो । एपिएफको पहिलो रोजाईमा खेल्ने ६ खेलाडी राष्ट्रिय टोलीका पनि प्रमूख खेलाडी हुन् । यसको मतलब लिग हुनुपर्ने जस्तो प्रतिस्पर्धात्मक थिएन । र, त्यस्तो लिगको प्रदर्शनलाई आधार मान्दा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै आशा गर्न कठिन हुन्छ ।
घरेलु लिग र युरोप तथा मध्यपूर्वको एक्सपोजरमा नेपालले यसपाली उपाधि खडेरी तोड्ने आशा गर्न सकिन्छ । अझ महत्वपूर्ण कुरा त नेपाली महिला राष्ट्रिय टोलीप्रति अब सहानुभूति देखाउने छुट भने हुने छैन ।

एन्फाको टर्फ मैदानमा यत्रो धेरै समय बिताएका खेलाडीले अब घाँसे मैदानमा प्रतिस्पर्धा गर्नुपर्नेछ । यद्यपि दशरथ रंगशालामा खेल्नु नेपाली खेलाडीका लागि नौलो होइन । तैपनि लिग टर्फमा खेलेको कारण खेलाडीलाई सुरुआति केही समय गाह्रो हुन सक्छ । खासमा लिगको दोस्रो चरणका सबै खेल दशरथ रंगशालामा गराउने कुरा थियो । तर, यो कुरैमा सीमित रह्यो । पछि एन्फाले कम्तिमा पनि प्लेअफ रंगशालामै खेलाउने भनेर तालिका नै सार्वजनिक गर्यो । तर, यसपालि पनि महिला फुटबल हेपियो । महिला लिग एन्फा पदाधिकारीको महत्वमा परेन । उनीहरुलाई राजनीतिक दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको सभापति कप प्यारो भयो ।
एन्फाले चाहेको भए सभापति कपलाई आफ्नो मुख्यालयमा सारेर महिला लिगलाई रंगशालामा आयोजना गराउन सक्थ्यो । तर, यस्तो भएन । पदाधिकारीको राजनीतिका कारण सेमिहाङ्मा लिम्बु, साहारा लिम्बु र दीव्या यस्मालीमगर जस्ता युवा प्रतीभाको देशकै पुरानो रंगशालामा खेल्ने सपनाको दोहन भयो ।
लिगको अर्को कमजोरी भनेको व्यस्त तालिका हो । दिन बिराएर खेल्नु पर्दा खेलाडी थकित थिए । उनीहरुले आफ्नो वास्तविक खेल प्रस्तुत गर्नै सकेनन् । खेल प्रस्तुत गर्नु त परको कुरा खेलाडीलाई ९० मिनेट मैदानमा टिक्न पनि गाह्रो भइरहेको थियो । सुपर स्टेजकै कुरा गर्दा एउटा खेलमा वालिङ नगरपालिकाका एकजना खेलाडी लडेर बेहोस् नै भइन् । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो ।

यी बाहेक खोतल्नुपर्ने कुराहरु थुप्रै छन् । यस्तो कर्माकाण्डी लिगले राष्ट्रिय टोलीलाई कति बल दियो होला र !
रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, अनिता बस्नेत, चन्द्रा भण्डारी र विमला विकको प्रदर्शन लिगमा एकरुपको थियो । लिगकै प्रदर्शनलाई कायम राख्ने हो भने नेपालले आसन्न प्रतियोगितामा राम्रो लाभ लिन सक्छ । बंगलादेशविरुद्धको साफ च्याम्पियनसिप फाइनलमा नेपालका लागि बराबरी गोल फर्काएकी अमिषा कार्कीले च्याम्पियनसिप गुमाउँदै छिन् । ‘लेप्टिनेन्ट’ प्रशिक्षणका कारण भक्तपूरमा रहेकी आर्मीकी यी फरवार्डको अभाव टोलीलाई खड्कनेछ । लिग खेलेका अन्य खेलाडीहरु पूर्ण रुपमा फिट छन् । यसमा जोडौं सावित्रा भण्डारी, रेखा पौडेल र कप्तान अन्जिला तुम्बाप्पो सुब्बाको विदेशी लिग अनुभव ।
भनिन्छ, फुटबलको आँखा हुँदैन । यो भनाई फुटबलमा जस्तोसुकै नतिजा पनि सहजै आउन सक्ने यथार्थमाथि स्थापित छ । तैपनि घरेलु लिग र युरोप तथा मध्यपूर्वको एक्सपोजरमा नेपालले यसपाली उपाधि खडेरी तोड्ने आशा गर्न सकिन्छ । अझ महत्वपूर्ण कुरा त नेपाली महिला राष्ट्रिय टोलीप्रति अब सहानुभूति देखाउने छुट भने हुने छैन ।