काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलले कभर्डहल बनाउन जग्गा खोजेको वर्षौं बितिसक्यो । तर, अहिलेसम्म भलिबलले चाहेजस्तो जग्गा पाउन सकेको छैन । बास्केटबल, ब्याडमिन्टन, कबड्डीलगायतका खेलको पनि पीडा उही हो । पायक पर्ने स्थानमा उपयुक्त जग्गा पाए कभर्डहल बनाउ“छु भन्ने खेल संघहरूको लाइन अझै लामो हुन सक्छ ।
‘जग्गा पाए बनाउने’को लाइन जति लामो छ, ‘जग्गा खोज, हामी बनाइदिन्छौं’ भनेर मन्त्री र प्रधानमन्त्रीहरूबाट दिइने आश्वासनको फेहरिस्त झनै बयान गरिनसक्नु हुन्छ ।
जबकि पूर्वाधार अभावले ठूलो सम्भावना बोकेका इन्डोर खेलहरू खडेरीको बालीझै खुम्चिइरहेका छन् । फक्रिन नपाएर थिच्चिइरहेका छन् ।
महिला भलिबलको फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्दा आयोजक एभरेस्ट भलिबल लिगका सिइओ स्नेभी चापागाईंले भनेकी थिइन, ‘ठूलो प्रतियोगिता गर्न पूर्वाधार नै छैन । दशरथ रंगशालाको सानो कभर्डहलले दर्शकको चाप थेग्न सक्दैन ।’
पुरुष भलिबलमा फ्रेन्चाइज लिग आयोजनाको तयारीमा रहेको केडिया ग्रुपको पीडा पनि त्यही हो । उता नेपालमा पहिलो पटक भइरहेको नेपाल कबड्डी लिग (एनकेएल)का आयोजकको गुनासो पनि योभन्दा फरक छैन । बास्केटबलमा त फ्रेन्चाइज लिग घोषणा भएको वर्षौं बितिसके पनि पूर्वाधार समस्याकै कारण लगानीकर्ताहरू हिच्किचाइरहेका छन् । सुरु गर्ने आँट जुटाउन सकिरहेका छैनन् ।
राष्ट्रिय संघहरूलाई त्रिपुरेश्वर वा वरपर नै कभर्डहल बनाउन जग्गा चाहिएको छ । सहरभन्दा थोरै बाहिर पर्याप्त पाए पनि संघहरूलाई त्यो पायक लाग्दैन । त्रिपुरेश्वरमा पाइँदैन । हुँदै नभएको चिज खोजेपछि पाउनु पनि कसरी ! बरू असम्भव ठाउँमा खोजेझै गरेपछि बनाउनेलाई ‘जग्गा पाइएन’ भनेर पन्छिन सजिलो हुने भयो अनि बनाइदिनेलाई त झनै हाइसन्चो ।
खेलकुदलाई उद्योगका रूपमा विकास गर्दै व्यावसायिकता प्रवद्र्धनका लागि घरेलु प्रतियोगिता गर्न मात्र होइन । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाल ल्याउने दाबी गर्ने क्रममा पनि राष्ट्रिय खेल संघहरूले थुप्रै पटक सोच्नुपर्ने अवस्था छ ।
अर्थात फुटबल र क्रिकेटसँगै नेपाली खेलकुदलाई उद्योगको रूप दिन भलिबल, बास्केटबल, कबड्डी, ब्याडमिन्टन र मार्सल आर्टसका खेलहरू राम्रो माध्यम बन्न सक्थे । खेल, खेलाडी, टिम, दर्शक, प्रायोजक, आयोजक, प्राविधिक र मिडिया सबै त्यसका लागि तयार छन् । तर, पूर्वाधारले साथ नदिँदा कामचलाउ पारामा नेपाली खेलकुद घिस्रिरहनुपरेको यथार्थ हो ।
बनाउने र बनाइदिने ‘गफ’ले खेलप्रेमीको कान पकाइरहे पनि एउटै ढंगको अन्तर्राष्ट्रिय इन्डोर स्पोर्टस भेन्यु भन्न सकिने पूर्वाधार किन बन्न सकेन त ? किनकि कसैले पनि बनाउन र बनाइदिन भाषण गरेका नै होइनन् । आफैले दिने गरेको ‘गफ’मा गफाडीहरू स्वयं नै इमान्दार छैनन् । बनाउने र बनाइदिने आँट र इच्छाशक्ति नै उनीहरूसँग छैन । छ त केवल, बनाउनेसँग ‘उपयुक्त जग्गा नपाएको’ र बनाइदिनेसँग ‘संघले जग्गा नखोजेको’ बहाना ।
राष्ट्रिय संघहरूलाई त्रिपुरेश्वर वा वरपर नै कभर्डहल बनाउन जग्गा चाहिएको छ । सहरभन्दा थोरै बाहिर पर्याप्त पाए पनि संघहरूलाई त्यो पायक लाग्दैन । त्रिपुरेश्वरमा पाइँदैन । हुँदै नभएको चिज खोजेपछि पाउनु पनि कसरी ! बरू असम्भव ठाउँमा खोजेझै गरेपछि बनाउनेलाई ‘जग्गा पाइएन’ भनेर पन्छिन सजिलो हुने भयो अनि बनाइदिनेलाई त झनै हाइसन्चो ।
उसो त फुटबल र क्रिकेटजस्ता ठूला मास गेमसँग पनि पर्याप्त पूर्वाधार छैन । पर्याप्तमात्र होइन, कामचलाउ पनि छैनन् । तर नेपालका इन्डोर खेलहरू राम्रो कभर्डहलको अभावमा छट्पटिइरहँदा प्राकृतिक बितण्डाले एउटा सम्भावनाको ढोका खोलेको छ । फुटबलका लागि दुःखद बनेको गत असोजको वर्षाको बाढी इन्डोर खेलहरूका लागि सुखद बन्न सक्छ ।
प्रसंग च्यासल रंगशालाको । बागमती र मनोहरा नदीको दोभानमा सरकारकै करोडौं रुपैयाँ खर्च भइसकेको त्यो रंगशाला प्रत्येक वर्ष वर्षातको बाढीमा डुब्ने गर्छ । बाढीले प्रत्येक वर्ष बालुवा र फोहोरको लेदो ल्याएर थुपार्दा च्यासलको मैदान तथा रंगशालाका पूर्वाधार क्षतिग्रस्त हुने गर्छ । विगतका वर्षहरूमा बाढीले क्षति पुर्याएपछि तुरुन्तै त्यसको पुनर्निर्माण गरिने गरिन्थ्यो ।
दशरथ रंगशालाको विकल्पका रूपमा नेपाली फुटबललाई सेवा दिन सक्ने गरी च्यासल रंगशाला बनाउन खोजिएको थियो । जुन सफल भएन । अब च्यासललाई समग्रमा अर्को विकल्पका लागि प्रयोग गर्ने योजना बनाउनुपर्छ । अर्थात कम्तीमा १५/२० हजार दर्शक क्षमताको बहुउद्देश्यीय कभर्डहल च्यासलको त्यही ठाउँमा बनाएर समग्रमा नेपाली खेलकुदको क्षमतावृद्धि गर्नेतिर किन नसोच्ने ?
यसपालि चाहिँ बाढी पनि ठूलो आयो, क्षति पनि उत्तिकै ठूलो भयो । झण्डै ९ फिट लेदो मैदान र प्यारापिटमा थुप्रियो । यही कारण महिनौं बितिसक्दा पनि खेलकुद हेर्ने सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद र भोगचलन गरिरहेको नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघले च्यासल रंगशालालाई फेरि प्रयोगमा लायक बनाउने काममा सिन्को पनि भाँचेका छैनन् । एक हिसाबमा च्यासल रंगशालालाई लिएर परिषद र संघले हात उठाइसकेझै देखिन्छ ।
स्थानीय च्यासल युवा क्लबले सरसफाइ गरेर खेल्न लायक बनाउन प्रयास थाले पनि परिषद र संघले च्यासल रंगशालामा अब गरिने सबैखाले लगानी व्यर्थ रहेको निष्कर्ष निकालिसकेका छन् । उनीहरूको चालामालाले बताइरहेको छ, ‘प्रत्येक वर्ष बाढीले च्यासल रंगशालामा यत्तिकै वा अझ बढी क्षति भइरहन्छ । यो रंगशालामा अब मिहिनेत गरेर काम छैन ।’
सम्बन्धित विज्ञहरूको कुरा पनि त्यस्तै सुनिन्छ । विज्ञहरूका अनुसार काठमाडौं र ललितपुरको सिमानामा घना बस्तीबीच बगेका दुवै खोलामा प्रत्येक वर्ष पानीको बहाव झनै बढ्दै जानेछ । जति धेरै घर र पक्की संरचना बन्यो, उति नै जमिनले पानी सोस्न पाउँदैन र सबै पानी तुरुन्तै खोलामा पुग्छ । जसका कारण खोलाले काठमाडौं उपत्यकामा मच्चाउने बितण्डा हरेक वर्ष बढ्दै मात्र जानेछ । घट्ने त सम्भावना नै छैन ।
यस अर्थमा परिषद र संघले च्यासलको फुटबल रंगशालाबाट हात उठाउने नै सोच बनाएको भए पनि त्यो ठिकै हुन सक्छ । तर खेलकुदका लागि ठूलो लगानी भइसकेको च्यासल रंगशालाले लामो समयदेखि फुटबलर, फुटबलकर्मी र फुटबलप्रेमीको वैकल्पिक गन्तव्यको रूपमा परिचय बनाइसकेको थियो । यसकारण फुटबल रंगशालामा धेरै लगानी र मिहिनेत नगर्ने हो भने पनि च्यासलसँगको खेलकुदको साइनो तोडिन दिनुहुन्न ।
दशरथ रंगशालाको विकल्पका रूपमा नेपाली फुटबललाई सेवा दिन सक्ने गरी च्यासल रंगशाला बनाउन खोजिएको थियो । जुन सफल भएन । अब च्यासललाई समग्रमा अर्को विकल्पका लागि प्रयोग गर्ने योजना बनाउनुपर्छ । अर्थात कम्तीमा १५/२० हजार दर्शक क्षमताको बहुउद्देश्यीय कभर्डहल च्यासलको त्यही ठाउँमा बनाएर समग्रमा नेपाली खेलकुदको क्षमतावृद्धि गर्नेतिर किन नसोच्ने ? ‘बनाउँछौं’ भनेर सहरको बीचमै जग्गा खोजिरहेका इन्डोर खेलका संघहरू अनि खेलप्रेमीको भिड देख्नेवित्तिकै ‘बनाइदिन्छौं’ भनेर गफ दिनेलाई बहानाबाट भाग्न किन दिइरहने ?
एकचोटि कल्पना गरौं न ! साँच्चिकै च्यासलमा १५/२० हजार दर्शक क्षमताको कभर्डहल बनाउन सके सबैखाले इन्डोर खेलका ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता वर्षभर नै हुन सक्थे । च्यासल धेरै खेलका खेलाडी, खेलकर्मी र समर्थकको साझा गन्तव्य बन्न सक्थ्यो ।
खाली ठाउँको अभावमा उपत्यकामा धेरै मानिस जम्मा हुने ठाउँमा पार्किङ सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनिरहेको छ । अब बाढीले सधैं बितण्डा मच्चाइरहने च्यासलको झन्डै सय रोपनी जमिनमा पहिलो तला पूरै खुला राखेर पार्किङको प्रयोजनमा ल्याउन पाइन्थ्यो । वर्षातमा बाढीले पानीको सतह बढ्दा पार्किङ मात्र डुब्थ्यो । पानीको सतह घटेसँगै फेरि सामान्य सरसफाइपछि पार्किङ प्रयोगमा ल्याउन सकिन्थ्यो ।
यस्तो निम्छरो अवस्थाको खेलकुदमा वर्तमान नेतृत्वसामु ठूलो सोच्ने र ठूलो गर्ने अवसर आएको छ । राष्ट्रिय गौरवकै आयोजनाका रूपमा अगाडि बढाएर नेपाली खेलकुदको क्षमतावृद्धि गर्ने ऐतिहासिक सत्प्रयासको थालनी किन नगर्ने ?
माथिल्लो तलाबाट ठूलो सुविधासम्पन्न कभर्डहल बनाउँदा एकैपटक भलिबल, बास्केटबल, ब्याडमिन्टन, कबड्डी, ह्यान्डबल, फुटसल, मार्सल आर्टसलगायतका थुप्रै खेलले भनेजस्तो प्रतिस्पर्धास्थल पाउँथे । कुनै संघले आँट गरेर ल्याउन सके विश्व च्याम्पियनसिप नै आयोजना गर्ने सामथ्र्य नेपालले राख्ने थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कविताको पंक्ति छ, ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’
देवकोटाले लेखेझै चन्द्रमा छुने उद्देश्य राखियो भने कम्तीमा सगरमाथा चढ्न सकिएला । उद्देश्य नै चन्द्रागिरिको थुम्कोलाई बनाउने हो भने स्वयम्भूको डिलमा पनि पुग्न नसकिएला !
दशकौं भइसक्यो, नेपाली खेलकुद सम्भव भएसम्म सबैभन्दा तल्लो स्तरमा घिस्रिइरहेको । महाकवि देवकोटाले साढे आठ दशकअघि लेखिसकेको प्रश्नोत्तर कविताको त्यो पंक्तिभन्दा ठीक विपरीत नेपाली खेलकुद भने अहिलेसम्म सोच्ने सवालमा पनि उदार बन्न सकेको छैन । निकै दरिद्र छ । खेल प्रशासकहरू सोच्दा पनि सम्भव भएसम्म सबैभन्दा तल्लो स्तरबाट सोच्छन् ।
यस्तो निम्छरो अवस्थाको खेलकुदमा वर्तमान नेतृत्वसामु ठूलो सोच्ने र ठूलो गर्ने अवसर आएको छ । राष्ट्रिय गौरवकै आयोजनाका रूपमा अगाडि बढाएर नेपाली खेलकुदको क्षमतावृद्धि गर्ने ऐतिहासिक सत्प्रयासको थालनी किन नगर्ने ?