काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू कम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङ सोक सेन चे फुटबल क्लबमा अनुबन्ध भएका छन् ।
मंगलबार किरिभोङले सामाजिक सञ्जाल फेसबुकमार्फत लाकेनलाई कम्बोडियन प्रिमियर लिगको नयाँ सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो ।
लाकेनले दुई वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाटनको थ्री स्टार क्लबको प्रतिनिधित्व गरेका थिए । थ्री स्टार रेलिगेसनमा परेको उक्त सिजन लाकेनले ‘इमर्जिङ प्लेयर अफ दि सिजन’को पुरस्कार जितेका थिए । गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनमा लाकेन झापा एफसीका मार्की खेलाडी थिए । गत सिजन पनि उनी झापामै अनुबन्धित थिए । तर, इन्जुरीका कारण उनले उक्त सिजन कुनै पनि खेल खेलेनन् ।
सिंगापुरमा हुर्केका लाकेन पछिल्लो दुई वर्षयता राष्ट्रिय टोलीमा नियमित छन् । ‘बक्स टु बक्स’ मिडफिल्डर लाकेनलाई अन्तर्राष्ट्रिय फुटबलका पछिल्ला दुई खेलमा स्ट्राइकरका रुपमा पनि प्रयोग गरिएको थियो । लाकेनसँग भारतको आइ–लिग क्लब दिल्ली एफसीमा खेलेको अनुभव पनि छ ।