एएफसी एसियन कप छनोटमा नेपालले इतिहासकै उत्कृष्ट प्रदर्शन गर्यो । आफूभन्दा धेरै माथिल्लो वरियताको टिमसँग उसकै मैदानमा ३–१ ले पछि परिसकेको खेललाई बराबरीमा ल्याएर पेनाल्टी सुटआउटसम्म पुग्नु सामान्य प्रदर्शनले सम्भव हुँदैनथ्यो । नेपाली टिमले उज्वेकिस्तानमा त्यस्तै असाधारण फुटबल खेल्यो । तीन खेलमा २० गोल गर्दा तीन गोलमात्र खायो । पहिलो पटक एसियन कपलाई छानिने लक्ष्यमा भाग्यमात्र तगारो बन्यो । पेनाल्टी सुटआउटको भाग्यमा ठगिँदा एसियन कपमा छनोट नभए पनि नेपाली टिम अन्तर्राष्ट्रिय महिला फुटबलमा रवाफिलो प्रभाव छोड्दै घर फर्किन सफल भयो ।
नेपालले इतिहासमै यति माथिल्लो टिमसँग यस्तो प्रभावशाली प्रदर्शन गरेको थिएन । अझ यसपाली त नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको ४० वर्षे इतिहासमा बिल्कुल नौलो संरचनामा खेलेर त्यो सफलता हासिल गरेको थियो । ४–४–२ को परम्परागत शैलीलाई आफ्नो स्वभाव बनाइसकेको नेपालले पहिलो पटक तीन जनामात्र रक्षक राखेर मैदान उत्रियो । आलोचनाहरुका बीच त्यो रणनीतिलाई प्रत्येक खेलमा सफल बनाउन नेपाल सफल भयो ।
टिम त्यही थियो । खेलाडी तिनै थिए । तयारी उस्तै थियो । विपक्षी चाँही यसपाली कम्तिमा उज्वेकिस्तान धेरै माथिल्लो स्तरको थियो । यस्तोमा कसरी नयाँ संरचना, नयाँ सोच, नयाँ जोश, नयाँ जाँगर र सफल नतिजा सम्भव भयो त ?
उत्तर सजिलो छ, ‘मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डे ।’ हो, युइएफए प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिकको ज्ञान, अनुभव, परिपक्वता, कार्यशैली र प्रेरणादायी नेतृत्वका कारण यो सफलता सम्भव भएको थियो । बेल्जियमका प्रशिक्षक प्याट्रिककै कारण नेपाली महिला टिमको फुटबलमाथिको अप्रोच नै फेरियो ।
तर, दूर्भाग्य ! अखिल नेपाल फुटबल संघको राजनीतिक चपेटामा टिम पर्दा नेपाली चेलीहरुले उनको नेतृत्व फेरि पाउने सम्भावना लगभग समाप्त भएको छ । चार दशकपछि नयाँ तरिकाले अगाडि बढ्न खोजेको महिला फुटबलको यो उर्जावान यात्रा रोकिने भयले खेलाडीहरु त्रसित भइरहेका छन् ।
उज्वेकिस्तानबाट मुख्य प्रशिक्षक र व्यवस्थापनबीच थुप्रै खटपटका समाचार आए । प्रशिक्षकले चाहेजसरी काम गर्न नपाएका गुनासाहरु सार्वजनिक भए । जसलाई एन्फाले लगातार अस्वीकार गरिरहयो । फिल्मलाई डिरेक्टर्स मिडियम भनेजस्तै फुटबल भनेको प्रशिक्षकको मिडियम हो । त्यहाँ प्रशिक्षक सर्वेसर्वा हुन्छन् । सबैखाले निर्णय उसैले गर्छ । यही कारण त प्रशिक्षकले सबैखाले नतिजाको जिम्मेवारी एक्लै लिने गर्छन । तर नेपाली महिला टिमको हकमा त्यस्तो नभएको उनको गुनासो रहयो ।
कान्तिपुर तथा दी काठमाडौं पोष्ट पत्रिकामा मंगलबार प्रकाशित अन्तरवार्तामा उनले एन्फालाई योजनाभन्दा राजनीतिमा बढि रुची रहेको, टिमको लागि होटल व्यवस्थापनदेखि आइसको समेत समस्या रहेको यथार्थ सार्वजनिक गरे । यसले एन्फाले महिला फुटबल विकासका लागि आफूसँग थुप्रै योजना छन् भनेर गर्ने गरेको चर्को श्वरलाई त्योभन्दा ठूलो श्वरमा खारेज गरिदिएको छ ।
एन्फाको विषयमा यति आलोचनात्मक चेतका साथ यथार्थ बोलेपछि अब सायद उज्वेकिस्तानबाट बेल्जियम गएका प्याट्रिकलाई फर्काउन एन्फाले चाहने छैन । प्याट्रिक स्वयमले पनि एन्फाको शैली नसुध्रने हो भने आफू नफर्कने बताइसकेका छन् । प्याट्रिक र एन्फा नेतृत्वको सोच केकस्तो छ, त्यो उनीहरुले जान्ने हो । तर प्याट्रिक नेपाली महिला फुटबलको नीर्विवाद आवश्यकता हुन् । आगामी दिनमा यसपाली पूरा नभएको सपना पूरा गर्नका लागि उनको निरन्तरता नेपाली फुटबलको आवश्यकता हो ।
अर्को वर्ष हुने चुनावमा ध्यान केन्द्रित गरिसकेको एन्फाले भोटरको हैसियत बोकेका वा भोट प्रभावित गर्न सक्नेहरुको मन दुखाएर नेपाली फुटबललाई हसाउने प्रयास नगर्ला । एन्फा निर्वाचनमा भोट हाल्ने वा हाल्न लगाउनेहरुसँग नै खट्पट परेका प्याट्रिकलाई फर्काउँदा उनीहरु रिसाउन सक्छन् । चुनावमा सारा समर्थकले वा नेपाली नागरिकले भोट हाल्ने होइन भन्ने एन्फा नेतृत्वलाई थाहा छ । उनीहरुलाई भोट हाल्ने कस्ले भन्ने पनि जानकारी छ । यसकारण सम्पूर्ण फुटबललाई खुसी पार्न एकजना विदेशीको मोलाहिजा गर्नुभन्दा बरु सीमित मतदातालाई खुसी पारौं भन्ने पनि नेतृत्वलाई लाग्न सक्छ ।
तर, एन्फाको नेतृत्वमा पुगेपछि आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्न सक्नुपर्छ । नेपाली फुटबलको आवश्यकतालाई ध्यानमा राखेर सम्पूर्ण नेपालीलाई खुसी दिने उद्देश्यका साथ प्याट्रिकलाई फर्काउने वातावरण बनाउनुपर्छ । ‘तिम्रो योजनाअनुसार काम गर्न कुनै बाधा हाल्दैनौं । आएर नेपाली महिला फुटबलको स्तरोन्नतिमा केही योगदान गरिदेउ’ भनेर अनुरोध गर्दा एन्फा र नेतृत्व सानो हुँदैन । बरु नेपाली फुटबलको पक्षमा गरिएको प्रयासले उनीहरुको कद झनै उचो हुन्छ ।
र, यो अनुरोधका लागि प्याट्रिक हकदार छन् । उज्वेकिस्तानमा उनले यो प्रमाणित गरिसकेका छन् ।