काठमाडौं । एक युगमा एक दिन एकचोटि आउँछ, उलटपुलट उथलपुथल ल्याउँछ ।
नेपाली राजनीतिमा आइरहने त्यस्तो दिन अघिल्लो साता पनि आयो । उलटपुलट उथलपुथल ल्यायो । अघिल्लो दिनसम्म आफूलाई मालिक ठान्ने शक्तिशाली शासकहरूले एकाएक भाग्ने समय र ठाउँसमेत पाएनन् । सम्पूर्ण नेपाल र नेपालीको भाग्यविधाताका रूपमा आफूलाई नायक ठान्नेहरू एकाएक इतिहासकै सबभन्दा ठूला खलनायकमा पुनपर्रिभाषित गरिए ।
केही बेरअघिसम्म आफ्नो स्वार्थको डम्फु बजाउन मालिक बनाउनेहरूले नै समाज र देशद्रोहीका रूपमा बयान गर्न थोरै पनि ढिलाइ गरेनन् । जसले नयाँ भाष्य स्थापित गर्यो । नेपाली समाजको मुक्तिवाहकका रूपमा ‘पुजिएका’हरूको परिचय निमेषभरमै कुशासन, भ्रष्टाचार र अहंकारी अधिनायक बन्यो ।
चार दशकदेखिको अकण्टक सत्ता परिवर्तन भयो । ‘सर्वशक्तिमान’ दुइतिहाईको सरकारलाई पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको ‘नागरिक सरकार’ले स्थानान्तरण गरेको छ ।
यी सबै परिवर्तनसँगै आशाहरू पलाएका छन् । पुस्तौंदेखिको भ्रष्टाचार, कुशासन, बेथिति, शासकीय अहंकारको रापबाट देशले मुक्ति पाउने विश्वास जागेको छ । देशका सबै भूगोल, जात, भाषा, धर्म, लिंगमा विना भेद्भाव कानुनी राज्यको अनुभूति गर्न पाउने उत्साह सञ्चार भएको छ । देशभित्रै निर्वाध रूपमा गरिखान पाउने आाशा जागेको छ ।
खेलकुदलाई देशको समृद्धिको माध्यमका रूपमा स्थापित गर्न, अनुशासित र स्वस्थ नागरिक उत्पादनको थलोको रूपमा विकास गर्न राज्यको साँचो अभिभावकत्व आवश्यक छ ।
नयाँ परिवर्तनसँगै पक्कै पनि सबै क्षेत्र र वर्गले स्वाभाविक रूपमा आशा राखेका छन् । हो, अब सबै पेशा व्यवसाय स्वचालित रूपमा चल्न पाउनुपर्नेछ । कुनै क्षेत्र आफै अगाडि बढ्न सक्ने अवस्था भए राज्यले त्यसलाई स्वावलम्बी बनाउ“दै डोर्याउनुपर्छ ।
विगतमा राज्यबाट विभेदमा परेका क्षेत्रलाई विशेष अभिभावकीय संरक्षण प्रदान गरिनुपर्छ । नेपाली खेलकुद त्यस्तै एउटा क्षेत्र हो, जहाँ नागरिक सरकारको ध्यान तत्काल पुग्नु जरुरी छ । खेलकुदलाई दशकौंदेखि दोहन गर्नेमा राज्यभन्दा बढी यही क्षेत्रका ‘कू’शासकको भूमिका धेरै छ । मूल राजनीतिबाट पुराना कुपात्रहरूलाई जस्तै खेलकुद प्रशासनबाट तिनलाई पनि बढार्नुपर्नेछ ।
खेलकुदलाई देशको समृद्धिको माध्यमका रूपमा स्थापित गर्न, अनुशासित र स्वस्थ नागरिक उत्पादनको थलोको रूपमा विकास गर्न राज्यको साँचो अभिभावकत्व आवश्यक छ । जुन विगतमा नेपाली खेलकुदले कहिल्यै पाएन । अब त्यतातिर ध्यान दिनुपर्छ ।
अनुपातिक रूपमा विश्लेषण गर्ने हो भने राजनीतिभन्दा नेपालमा खेलकुद बढी भ्रष्ट छ । अधिनायकवादी चरित्र खेलकुदमा बढी हाबी छ । कुशासन र नातावाद यहाँ बढी छ । काम नगरी ठगीखाने प्रवृत्ति खेलकुदमै धेरै छ । राष्ट्रिय गौरवका कथा लेख्नुपर्ने जिम्मेवारी भए पनि अन्तर्राष्ट्रियजगतमा देशको बदनामी यहाँका शासकले बढी गरेका छन् ।
कुनै पनि परिवर्तनले जसरी आशाको सञ्चार गराउँछ । उसैगरी शंकाहरू पनि पैदा गराउँछ ।
भ्रष्टाचार विरोधी आन्दोलनले ल्याएको परिवर्तन र स्थापित गरेको सरकारसामु गर्नुपर्ने कामको प्राथमिकता सूची छ । त्यो सूची धेरै लामो छैन । ६ महिनाको लागि बनाइएको सरकारले यही अवधिभित्रमा चुनाव गराइसक्नुपर्नेछ । अनि सुशासनको प्रत्याभूतिका लागि भ्रष्टाचार तथा कुशासनको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्नेछ । वर्तमान सरकारले गर्नुपर्ने काम यतिमात्र हो ।
यति काम पनि नगरे यो सरकार र आन्दोलनका अभियन्ताले विगतका शासकलाई नालायक भन्न पाउने छैनन् । बरू त्यो पगरी ६ महिनापछि आफैले भिर्नुपर्नेछ । अनि जीवनभर कानुनको रक्षा र कानुनी शासनको रक्षामा अग्रपंक्तिमा उभिएकी प्रधानमन्त्री सुशीला कार्कीलाई जिम्मेवारीअनुसार काम नगर्नु, कुनै पनि क्षेत्रलाई त्यसले बोकेको सम्भावनाअनुसार अगाडि नबढाउनु पनि भ्रष्टाचार हो भन्ने कुरा राम्ररी थाहा छ । यसकारण नेपाली खेलकुदमा जिम्मेवारी पूरा नगर्ने र आफ्नो असक्षमता वा स्वार्थका कारण खेलकुदलाई त्यसले बोकेको सम्भावनाबाट च्युत गराउने भ्रष्टहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।
कुनै पनि परिवर्तनले जसरी आशाको सञ्चार गराउँछ । उसैगरी शंकाहरू पनि पैदा गराउँछ । परिवर्तनहरू भइरहने नेपालमा पछिल्लो परिवर्तनले पनि केही शंकाहरू स्वाभाविक रूपमा पैदा गराएको छ । ती सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको व्यवहार देखाएर सबै शंका निराकरण गर्ने जिम्मेवारी नेतृत्व लिएको हिसाबमा वर्तमान सरकार र प्रधानमन्त्री कार्कीकै हो ।
कम्तीमा यो आन्दोलनको पृष्ठभूमिबाट अर्को कोही अवसरवादीको उदय नहोस्, जसको स्वार्थ र नालायकीले फेरि दशकौंसम्म देशको दोहन गर्न नपाओस् ।
राजनीतिक रूपमा नेपालमा यस्ता युगान्तकारी समयहरू आइरहन्छन् । आइरहेका छन् । भाष्यहरू फेरिइरहन्छन् । फेरिइरहेका छन् । व्यवस्था बदलिइरहन्छन् । बदलिइरहेका छन् । नभएको त अवस्था परिवर्तन मात्र हो । भविष्यप्रतिको दृष्टिकोण सकारात्मक बनाउन नसकिएको हो । अनि भइरहेको चाहिँ कुमालेको चक्रजस्तै पात्रहरूको अवस्था घुमिरहेको हो । दुःख र निराशा आजको राष्ट्रिय नायक तुरुन्तै अपराधी अनि फेरि तुरुन्तै युगपुरुषमा रूपान्तरित हुने र यो चक्र घुमिरहने नियति सामान्य र सर्वस्वीकार्य हुनुमाथि हो । प्रत्येक परिवर्तनसँगै राजनीतिका पुराना कुपात्रको टिममा देश दोहनका लागि केही नयाँ खेलाडी झन डरलाग्दो पाराले थपिनु हो ।
आशा गरौं, अघिल्लो साताको जेनजी आन्दोलनको आँधीबेरीले नेपाली राजनीतिका त्यस्ता सबै अवसरवादी कुपात्रलाई बढारिसकेको होस् । आन्दोलनको रापतापसामु आत्मसमर्पण गरेर दुलो छिरेका खलपात्रहरूले फेरि नेपालको राजनीति दूषित पार्न फर्किने आँट कहिल्यै नगरुन् । कलिला बालबालिकाको स्वस्फूर्त भावनाबाट सुरु भएको यो युगान्तकारी परिवर्तन पछाडि अहिले प्रचार गरिएजस्तो कुनै ‘डिप स्टेट’ वा ‘विदेशी शक्ति’को योजना नदेखियोस् ।
कम्तीमा यो आन्दोलनको पृष्ठभूमिबाट अर्को कोही अवसरवादीको उदय नहोस्, जसको स्वार्थ र नालायकीले फेरि दशकौंसम्म देशको दोहन गर्न नपाओस् । अनि फेरि अहिले पुराना नालायकको विरुद्धजस्तै तिनको बहिर्गमनका लागि रगतको खोलो थप बगाउनु नपरोस् । कलिला छोराछोरीहरूले देशको सुन्दर भविष्यका लागि गरेको शाहदत फेरि खेर नजाओस् । देशले सा“च्चै विकास र समृद्धिको बाटो समातोस् । जीविकोपार्जनकै लागि विदेसिनुपर्ने नियति फेरियोस् । र, खेलकुदले पनि परिवर्तनको अनुभूत गर्न पाओस् ।