काठमाडौं । मंगलबार सम्पन्न बेल्जियममा आयोजना हुने लिगको ड्राफ्टबाट जेबी ब्रुजेसले ५ नेपाली क्रिकेटर अनुबन्धन गराएको छ ।
नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र ब्रुजेज एकै स्वामित्वमा रहेको छ ।
पहिलो पटक कुनै पनि विदेशी लिगको एकै टोलीमा यो नै सर्वाधिक उपस्थिती हो । यसअघि सन् २०२४ को ग्लोबल ट्वान्टी २० लिगमा नेपालका दुई खेलाडी एकै टोलीमा रहेका थिए । सो लिगमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एकै टोलीमा रहेका थिए ।
शिवनारायण चन्द्रपल मुख्य प्रशिक्षक रहेको टोली ब्रुजेजले ड्राफ्टबाट ललित राजवंशी, इशान पाण्डे, अनिल साह र गुलसन झा अनुबन्ध भएका हुन् । टोली ड्राफ्ट अघि नै नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गराइसकेको थियो ।
यस टोलीमा अन्य विदेशी खेलाडीको रुपमा राशी भान डर डुसन, कोलिन मुनरो, वायन पार्नेल, निखिल चौधरी, एडम रोसिंटन तथा लाहिरु मिलन्था जस्ता खेलाडीहरु रहेका छन् ।
ड्राफ्टमार्फत नै नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल घेन्ट ग्ल्याडीयटर्समा अनुबन्ध हुँदा आसिफ शेख एन्टवर्प एन्कर्समा आबद्ध भएका हुन् ।
यसअघि सन्दीप लामिछानेलाई लिगको टिम लिज रेड लायन्सले ड्राफ्ट अघि नै अनुबन्ध गराइसकेको थियो । ललित, अनिल, इशान, गुलसनको यो पहिलो विदेशी लिग अनुभब रहने छ ।
५ टिमको सहभागीता रहको यस लिग ६ देखि १४ जुनसम्म आयोजना हुदैछ । 
